Logo

लागुऔषध कारोवारी पक्राउ



Spread the love

१२ मंसिर, झापा – झापाको दमक र गौरादहबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित तीन कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । ती कारोवारीको साथबाट करिब ५७० ग्राम खैरो हिरोइनजस्ता प्रतिबन्धित लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । बरामद गरिएको लागुऔषध जिल्लामा हालसम्मकै सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ ।

उनका अनुसार दुई साताका अवधिमा दमकमा दुई र गौरादहबाट तीन जना लागुऔषधका कारोवारीलाई विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो । भारतीय सीमावर्ती गौरीगञ्ज नाका हुँदै भित्र्याउन लागेको अवस्थामा अभियुक्तलाई लागुऔषधसहित पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी ती लागुऔषधका कारोवारीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार गत कात्तिक २५ गते गौरादह–३ स्थित धोविनिया चोकबाट गौरादह–३ का ३२ वर्षीय सुनिल बराललाई हर्लिक्सको बट्टामा लुकाइछिपाइ राखिएको ३५२.३१ मिलिग्राम खैरो हिरोइनसहित बा८१प ६२४० नम्बरको स्कुटर र बा३च ९२५५ नम्बरको कारसमेत बरामद गरिएको छ ।

यसैगरी गत कात्तिक २५ गते दमक–४ स्थित भान्जा होटल एण्ड लजबाट भारत मुरसीदावाद घर भएका २७ वर्षीय टुटुल भन्ने रिन्टु सेखलाई आफ्नै शरीरभित्र प्लाष्टिकमा पोको पारी लुकाइछिपाइ राखेको २१७ ग्राम प्रतिबन्धित खैरो हिरोइन बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै गत कात्तिक १३ गते दमक–८ स्थित पूण्यबहादुर श्रेष्ठलाई पाउरोटीको झोलामा पाउरोटीभित्र खाँदेर राखेको अवस्थामा १८ एम्पुल, १८ थान फेनरागन र ट्याग नभएको १८ एम्पुल गरी ५४ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका अभियुक्तविरुद्ध दमक प्रहरीले मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्