Logo

खाडीचौर–चरिकोट सडकखण्ड निमार्ण द्रुतगतिमा गर्ने सहमति



Spread the love


२० मंसिर, दोलखा। ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ । सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो ।

लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिसहितको बैठकले सडक स्तरोन्नतिलाई द्रुतगति दिने सहमति भएको नागरिक अगुवा रमेश खतिवडाले बताउनुभयो । बैठकमा सहमति भएअनुसार मुढे–चरिकोट ३० किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शङ्कर माली निर्माण सेवाले तत्काल चरिकोट तथा मुडे दुवैतर्फबाट सडक स्तरोन्नतिको काम थालनी गर्ने भएको बताइएको छ । यस्तै पुस मसान्तभित्र सवबेश र ग्रावेलको काम गर्ने तथा फागुनको तेस्रो साताभित्र कालोपत्र शुरु गरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने सहमति भएको अर्का नागरिक अगुवा चिरञ्जीवी मास्केले बताउनुभयो ।

यस्तै खाडीचौर–मुडे २५ किलोमिटर सडकखण्डको सडक स्तरोन्नतिको काम जिम्मा लिएको सिमाञ्चल÷गौरीपार्वती÷सुनौला खिम्ती जेभीले पनि १० दिनभित्र यातायात सहजरूपमा सञ्चालन हुनेगरी सडकका खाल्डाखुल्डी पुरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बैठकमा संलग्न नगरिक अगुवा मास्केको भनाइ छ । खाडीचौर–चरिकोट सडक विस्तारमा भएको ढिलाइका कारण सडक वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भई सिन्धुपाल्चोक तथा दोलखाका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।रासस

प्रतिक्रिया दिनुहोस्