Logo

वर्षौदेखि अलपत्र एक किमी सडक



Spread the love

२० मंसिर, काठमाडाैँ – राजधानीमै एक किमी सडक निर्माण शुरु भएको वर्षौँ बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीयवासी धुलो एवम् हिलोबाट पीडित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित चामुण्डा मन्दिरबाट वडा नं ८ आरुबारी पुग्ने करीब एक किमी सडक वर्षौदेखि अलपत्र छ ।

आठ मिटर चौडाइको सडक कालोपत्र शुरु भएको दुई वर्ष बितिसक्यो तर काम सकिएको छैन । लामो समयदेखि सडक नबन्दा धुलोले टिक्न नसकिएको स्थानीय लालबहादुर रोक्काले गुनासो गरे । सडकमा कतै आयोजना सूचना पार्टीसमेत नराख्दा केही जानकारी पाउन नसकिएको उपभोक्ताको भनाइ छ । घर भत्काउन मुआब्जा दिनुपर्ने भएकाले उपलब्ध सडकमै कालोपत्र गर्न लागिएको सडक डिभिजन काठमाडौँका प्रमुख कैलाशनाथ श्रेष्ठले जानकारी दिए ।

घर नपर्ने स्थानमा भने सडक आठ मिटर बनाइएको छ । आरुबारीबाट माथि जाने वैकल्पिक सडक भएकाले स्थानीयवासीलाई अनुरोध गरेर आठ मिटर कायम गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । सडक निर्माण गर्दा तल्लो भागमा ठूला ढल हालेपनि माथिल्लो भागमा सानो ढल हाल्दापछि समस्या आउने देखिएको स्थानीयवासी निशा लामाले सुनाए । यो सडक निर्माण गरिरहेको पिआर निर्माण व्यवसायीसँग यससम्बन्धी लागत अनुमान मागे पनि पाउन नसकिएको उनको भनाइ थियो ।

सडक पाँच मिटर, दायाँबायाँ पेटी एक÷एक मिटर तथा ड्रेन एक मिटर गरी आठ मिटरमा विस्तार गर्न रु आठ करोड बजेट विनियोजन भएको छ । एक महिनाभित्र काम सक्ने निर्माण व्यवसायीका तर्फबाट सडक रेखदेखमा खटिएका सुपरभाइजर नारायण तिमल्सिनाको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्