Logo

साग महिला क्रिकेट : बङ्गलादेशलाई स्वर्ण पदक



Spread the love

२२ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न महिला क्रिकेटमा बङ्गलादेशले स्वर्ण पदक जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा श्रीलङ्कालाई दुई रनले पराजित गरी बङ्गलादेशले स्वर्ण पदक जितेको हो । खेलमा टस हारेर पहिला ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरको खेलमा आठ विकेटको नोक्सानीमा ९१ रन जोडेको थियो ।

जीतका लागि ९२ रनको मध्यम लक्ष्य पाएको श्रीलङ्काले नौ विकेटको क्षतिमा ८९ रन मात्र जोड्न सफल भयो र रजत पदकमा चित्त बुझायो । जीतका लागि श्रीलङ्कालाई अन्तिम ओभरमा सात रन आवश्यक परेकामा चार रन मात्र जोड्यो । बङ्गलादेशका लागि निगर सुल्तानले २९, साजिदा इस्लामले १५ र मुर्सिदा खातुनले १४ रन जोडेकी थिइन् ।

श्रीलङ्काका उमासाले चार ओभर बलिङ गरेर दुई ओभर मेडन राख्दै विपक्षी टोलीको चार विकेट लिएकी थिइन् । उनले मात्र चार खर्चिन् । श्रीलङ्काका हर्सिताले सर्वाधिक ३३ रन बनाएपनि टोलीलाई जीत दिलाउन सकिनन् । नेपालकी अञ्जली चन्दले प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा ‘बेष्ट बलर’को उपाधि हासिल गरिन् । दुई खेलमा ‘प्लेयर अफ दी म्याच’को उपाधिसमेत प्राप्त गरेकी उनले एघार ओभर बलिङ गर्दै ११ विकेट लिएकी थिइन् ।

श्रीलङ्काका हर्सिता प्रतियोगिताको उत्कृष्ट ‘ब्याटर’ घोषित भइन् । चार खेलमा उनले सर्वाधिक १८७ रन जोडेकी थिइन् । प्रतियोगितामा आयोजक नेपालले कास्य पदक जितेको थियो । विजेता खेलाडीलाई गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मेडल तथा ट्रफी वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्