Logo

भ्रमण वर्षको भारतमा प्रवर्द्धन



Spread the love

२२ मंसिर, काठमाडाैँ – नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको भारतमा प्रवर्द्धन गरिएको छ । भ्रमण वर्ष सचिवालय र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्स्पो)’ कार्यक्रमसम्बन्धी व्यवसायी तथा सरोकारवालाबीच प्रवर्द्धनात्मक कार्यक्रम गरेको हो ।

यही मङ्सिर १९ गते (डिसेम्बर ५ तारिख) मा नयाँ दिल्लीमा आयोजना गरिएको उक्त कार्यक्रममा भारतका करीब ६० प्रमुख ट्राभल व्यवसायी तथा सरोकारवालाबीच प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ । नेपाल भ्रमण वर्ष कार्यक्रमसँगै पाटाले आगामी सन् २०२० को फेब्रुअरी २२ देखि २६ सम्म आयोजना गर्ने त्रिदेशीय पर्यटन मेलाको तयारी तथा प्रवद्र्धनात्मक कार्यक्रममा अन्तरदेशीय सहकार्यलगायत विषयमा छलफल भएको जनाइएको छ ।

कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्ष र नाइस कार्यक्रमलाई सफल पार्न सहकार्य तथा समन्वयका साथ प्रवर्द्धनात्मक कामलाई अघि बढाइनुपर्नेमा जोड दिए । उनले यही मङ्सिर ६ गते पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिज्म पावरहाउस’ कार्यक्रममा समेत भ्रमण वर्ष २०२० तथा नाइससम्बन्धी करीब ४०० भारतीय पर्यटन सरोकारवालासमक्ष प्रस्तुति दिएका थिए ।

नेपाल भ्रमण वर्षका प्रबन्धक रोहिणी खनालले भ्रमण वर्ष लक्षित कार्यक्रमको उद्देश्य, महत्व र प्राथमिकताबारे प्रस्तुति दिँदै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागी हुन तथा आआफ्नो कार्यक्षेत्र र नेटवर्कमार्फत भ्रमण वर्षको प्रवर्द्धनमा सहयोग गर्न आह्वान गरे । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले भ्रमण वर्षका सन्दर्भमा पाटा नेपालद्वारा आयोजना गरिने कार्यक्रम विषेश गरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत तथा चीन छिमेकी मुलुकको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा पाटा अन्तरराष्ट्रियका सिइओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्र्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्वारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनीय भएको बताए । पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारका रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए ।

भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले नाइस कार्यक्रमले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्र (नेपाल, भारत र चीन)लाई पर्यटन क्षेत्रमा एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्