Logo

खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी



Spread the love

२६ मंसिर, ओखलढुङ्गा – निर्माण शुरु भएको १३ वर्षपछि खिजीचण्डेश्वरी विमानस्थल निर्माणको काम सकिएको छ । विसं २०६३ मा थालिएको विमानस्थल निर्माणको काम बल्ल सकिएको हो । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १२ वर्ष अलपत्र परेको विमानस्थल निर्माणको कामले गत वर्षबाट गति पाएको थियो । प्रारम्भिक चरणको काम सकिएकाले परीक्षण उडान गर्ने तयारी गरिएको छ । ओखलढुङ्गाको पश्चिमी क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीस्थित दोबस विमानस्थलमा यही साता परीक्षण उडान गरिने भएको हो ।

लामो समयपछि हवाईमैदान निर्माणको काम सकिएकाले अब तत्काल उडान परीक्षण गर्ने तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरण इञ्जिनीयरिङ विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिए । यात्रुसहितको उडान सेवाका लागि योग्य भए÷नभएको प्राविधिक हिसाबले जाँच गर्न यसै साता परीक्षण उडान गरिने उनको भनाइ छ ।

सांसद यज्ञराज सुनुवारसहित खिजीदेम्बाका पर्यटन व्यवसायी र समाजसेवीले तत्काल खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान गर्न प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । पर्यटकीय क्षेत्र थोलेदेम्बा हुँदै सगरमाथाको दृश्यावलोकनका लागि सो मार्ग सहज र सस्तो पर्ने भएकाले दीर्घकालीन योजनासहितको विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि सांसदसहितका सरोकारवालाले माग गरेका हुन् ।

विमानस्थलमा बाह्र मिटर चौडाइ र ५८० मिटर लम्बाइको मैदान बनाइएको छ । आगामी दिनमा सगरमाथासँग जोडिएका पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने भएकाले यसको क्षेत्र व्यापक बनाइनुपर्ने पर्यटन व्यवसायी पेम्बा शेर्पाको भनाइ छ । स्थानीयवासीले निःशुल्क जग्गा व्यवस्था गर्ने प्रतिबद्धतासहित नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थलको स्तरोन्नति र क्षेत्र बढाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्