Logo

भालुको आक्रमणबाट घाइते



Spread the love

२७ मंसिर, रसुवा – भालुको आक्रमणबाट उत्तरी रसुवाको टिमुरेमा एक वृद्ध बिहीबार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भालुको आक्रमणबाट गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरेगाउँ निवासी ७० वर्षीय दुप्ले तामाङ घाइते भएका हुन् ।
टिमुरे तातोपानीदेखि पूर्वतर्फ च्यार्नावान खर्क क्षेत्रस्थित गाईगोठको हेरचाह गरी बसिरहेकै स्थानमा तीन बच्चासहित आएको जङ्गली भालुले आक्रमण गरी तामाङलाई गम्भीर घाइते बनाएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए । घटनास्थल टिमुरे तातोपानी खण्डको राजमार्गभन्दा ५०० मिटरमाथि रहेको बताइएको छ ।

टाउकामा गम्भीर चोट परेका कारण उहाँलाई स्थानीयस्तरमा उपचार हुन नसकेपछि समिट एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

लाङटाङ रास्ट्रिय निकुञ्जका जङ्गल क्षेत्रमा भालुले आक्रमण गरेका कारण उपचारका लागि सरकारी अस्पतालको बिलबमोजिम रू दुई लाखसम्म भुक्तानी दिने व्यवस्था भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताइन् ।
जिल्लामा भालुको आक्रमण दिनप्रतिदिन बढ्दै जाँदा गाउँबासी त्रसित भएकाले भालुको व्यवस्थापन गर्न सरोकार निकायसँग आग्रह गरिएको टिमुरेका कामीनुर्पु तामाङले बताए ।

खैदीगाउँमा खेतीपाती र बौद्ध गुम्बामा पूजाआजाका लागि जान दिनहुँ जङ्गलको बाटो दुई घण्टा हिँड्नुपर्ने भएकाले भालुको व्यवस्थापन गरी जिउज्यानको संरक्षणका लागि सरकारलाई विशेष व्यवस्था गरिदिन टिमुरेका बासिन्दाले आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षमा भालुले छ व्यक्ति घाइते बनाउनाका साथै चार घरको ढोका फोरी खाद्य सामग्री नष्ट बनाएको प्रहरीले बताएको छ । चिसोयाममा हिमाली क्षेत्रका सर्वभक्षीय कालो भालु न्यानो खोज्दै बेंसीतर्फ झर्ने गर्छन् र बाटामा भेटेकाहरुलाई आक्रमण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्