Logo

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै



Spread the love

२७ मंसिर, जाजरकोट। हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उहाँले बताउनुभयो । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उहाँको भनाइ छ । विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् ।

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताउनुभयो ।

हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो । डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्