Logo

कर्णाली सरकारले बुलबुलेबाट भ्रमण वर्षको शुभारम्भ गर्ने



Spread the love

१ पुस, कर्णाली – कर्णाली प्रदेश सरकारले पर्यटकीय स्थल बुलबुलेबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने तयारी गरेको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले आगामी जनवरी १ का दिन बुलबुले ताल परिसरबाट विशेष समारोहका साथ भ्रमण वर्ष २०२० लाई स्वागत गर्ने निर्णय गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेमा तालका साथै रमणीय उद्यानसमेत छ । तीस बिघाहा क्षेत्रफलमा फैलिएको बुलबुले क्षेत्र सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । बुलबुले प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्य पर्यटकीय गन्तव्य भएकाले यसको थप प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले भ्रमण वर्ष शुभारम्भको कार्ययोजना बनाइएको हो ।

प्रदेशको पर्यटन विकास गर्ने उद्देश्यले नेपाली नयाँ वर्ष २०७५ वैशाख १ गते कर्णाली सरकारले मुगुको राराताल परिसरबाट ‘कर्णाली रारा पर्यटन वर्ष’ को शुरुवात गरेको थियो । अङ्गे्रजी नयाँ वर्ष २०२० लाई सङ्घीय सरकारले ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउने निर्णय गरेकाले प्रदेशस्तरमा यसको तयारी तीव्र पारिएको छ । प्रदेशका जिल्ला–जिल्लामा विशेष समारोहका साथ भ्रमण वर्षलाई स्वागत गर्ने तयारी भइरहेको छ ।

प्रदेशका मुख्यमन्त्री संरक्षक रहने गरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति क्रियाशील छ । प्रदेश पर्यटन मन्त्रालयको सहजीकरणमा यही समितिले भ्रमण वर्ष शुभारम्भको तयारी गरिरहेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले बुलबुलेमा पुगेर जनवरी १ लाई भव्य रुपले मनाउने तयारी गरिरहेको जानकारी दिए । उनले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री तथा प्रदेश राजधानीमा अवस्थित उच्च अधिकारीलाई बुलबुलेमा आमन्त्रण गरिने बताए ।

“कर्णालीका दशवटै जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ, जनवरी १ मा काठमाडौँमा प्रदर्शनका लागि यहाँबाट एउटा राम्रो सांस्कृतिक प्रस्तुति पनि पठाउनेछौं,” उनले भने । बुलबुलेमा सञ्चालित भ्रमण वर्षको शुभारम्भ समारोहमा नौ महिना लगाएर तयार पारिएको ‘प्रदेश पर्यटन गुरुयोजना’, कर्णाली सरकारले भ्रमण वर्ष २०२० प्रयोजनका लागि निर्माण गरिएको प्रदेशको लोगो र नारालाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्