Logo

कपडा बैंकमा नै कपडाको अभाव



Spread the love

७ पुस, दमौली। तनहुँको दमौलीमा स्थापना गरिएको कपडा बैंकमा कपडाको अभाव भएको छ । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्न स्थापना गरिएको बैंकमा कपडाको अभाव भएको लायन्स क्लब अफ तनहुँ दमौलीले जनाएको छ ।

क्लबका सदस्यबाट सङ्कलन गरिएको रु चार लाखको लगानीमा गत असोज महिनामा कपडा बैंक स्थापना भएको थियो । हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परिरहेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ ९राकु० ले जानकारी दिनुभयो ।

कपडा बैंक स्थापनाको छोटो अवधिमा नै तीन हजार परिवारलाई निःशुल्क कपडा वितरण गरिएको छ । “हाल दैनिक २०÷२५ जना कपडा लिन आउनुहुन्छ, तर कपडा बैंकमा कपडा पर्याप्त छैन”, उहाँले भन्नुभयो, “खोजेको जस्तो कपडा नपाएपछि सर्वसाधारण रित्तै फर्कनुपरेको अवस्था छ ।”

पछिल्लो समय आर्थिक अभाव भएको कारण बैंकमा पर्याप्त मात्रामा कपडा राख्न कठिनाइ भएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार कपडा अभाव भएको जानकारी पाएपछि विदेशमा रहेका नेपालीहरुले चाँडै नै कपडा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कपडा बैंकलाई दिगो बनाउन रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । पुस १५ गते आयोजना हुने साङ्गीतिक कार्यक्रमबाट बचेको रकम कपडा बैंकमा लगानी गरिनेछ । “कपडा बैंकलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न रकम अभाव भएकाले साङ्गीतिक कार्यक्रममार्फत रकम सङ्कलन गर्ने योजना बनाएका हौँ”, उहाँले भन्नुभयो, “नयाँ वर्षको अवसरमा युवायुवतीलाई मनोरञ्जन पनि हुने र क्लबको उद्देश्य पनि पूर्ति हुने विश्वास लिइएको छ ।”

‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूल मन्त्रसहित स्थापना भएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएको छ । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने गरेको छ ।

गत वर्ष आयोजित साङ्गीतिक कार्यक्रमबाट बचेको रकमले क्लबले अग्निपीडितलाई राहत, ह्विलचियर वितरण, शैक्षिक सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रमबाट रु दुई लाख सङ्कलन गर्ने लक्ष्य राखिएको कार्यक्रमका संयोजक एवं क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्