Logo

तनहुँमा ३५ जना क्षमताको कारागारमा १४८ बस्न बाध्य



Spread the love

८ पुस,तनहुँ।  तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको बन्दीगृह बजेट अभावका कारण हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त भवनको जिम्मा ऋषि शक्ति बिल्र्डस एण्ड इञ्जिनीर्यस प्रालि डुम्रेले सम्झौताअनुरुप मङ्सिर १५ गते निर्माण सम्पन्न गरे पनि भुक्तानी हुन नसकेका कारण भवन हस्तान्तरण गर्न नसकिएको हो ।

 हस्तान्तरण नहुँदा ३५ क्षमताको कारागारमा हाल १४८ जना कैदीबन्दी बस्न बाध्य रहेका छन् ।  उनीहरुलाई सुत्न र शौचालय जान समस्या भएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त भवनको कारागार व्यवस्था विभागबाट समेत अनुगमन भइसकेको छ । उहाँले भन्नुभयो, “भुक्तानी प्रक्रिया लम्बिएका कारण बन्दीगृह सञ्चालनमा ढिलाइ भएको हो ।”

कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन मूल्य अभिवृद्धि कर बाहेक रु छ करोड ४४ लाख लागतमा निर्माण गरिएको हो । असी जना क्षमताको उक्त बन्दीगृह सुविधासम्पन्न रहेको छ । दुई तलाको उक्त भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङहल, सोलारको व्यवस्था, एक गोलघर, चिसोतातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षाचौकीलगायका व्यवस्था रहेका छन् ।  भवन आउँदो माघ १ गतेबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको सूचना अधिकारीले जानकारी दिनुभयो ।

सम्झौताअनुरुपको बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माणकार्य सम्पन्न भए पनि हस्तान्तरणमा ढिलाइ भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) गोरखाकी डिभिजन इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिनुभयो । निर्माण व्यवसायीलाई एक हप्ताभित्र भुक्तानी गर्ने भनिए पनि विभागबाट बजेट आउन ढिलाइ भएका कारण समस्या भएको उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्