Logo

पौष कृष्ण औंसीका दिन लाग्दैछ सूर्यग्रहण : के गर्न हुन्छ, के गर्न हुँदैन ?



Spread the love

पुस १० गते बिहीवार पौष कृष्ण औंसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।ग्रहणले बिहान ८ः४२ बजे स्पर्श गर्ने र बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

ग्रहण लाग्नुभन्दा अगाडी पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुंगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल दिने छैन । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्