Logo

प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो : नेता राई



Spread the love

१२ पुस, नेपालगञ्ज। पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको मात्र हो भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर ‘माहौल’ बनाउने अभियान शुरु भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिनुभएको हो । “संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौँ, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो” नेता राईको भनाइ थियो । समन्वय समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भन्नुभयो, “तपाईँ नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन ।”

सो महोत्सव उदघाटन अघि बिहान नेपालगञ्जमा सांस्कृतिक झाँकी पनि निकालिएको थियो । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश ५ समिति बुटवलले सघाएको छ । ‘मेहनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । यस क्षेत्रका घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको संयोजक रचना श्रेष्ठले बताउनुभयो । यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० बढी प्रदर्शनी कक्ष राखिएका छन् । ती कक्षहरुमध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि छुट्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्