Logo

बीबिएल: सिड्नी थन्डरलाई पराजित गर्दै सन्दीप सम्मिलित मेलबर्न उक्लियो शीर्ष स्थानमा



Spread the love

१७ पुस, काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स विग ब्यास लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सिड्नी थन्डरलाई बिहीबार ३ विकेटले पराजित गर्दै मेलबर्न स्टार्स शीर्ष स्थानमा उक्लिएको हो ।

१ सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १९.४ ओभरमा ७ विकेटको नोक्सानीमा पुरा गर्यो । मेलबर्नको जितमा निक लर्किनले ४५ बलमा ८ चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । ओपनर मार्कस स्टोइनिसले ५१ बलको सामना गर्दै ५८ रनको अर्ध शतकीय इनिङ खेले ।

त्यस अघि टस जितेर ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । एलेक्स रसले ३२ बलमा सर्वाधिक ४० रनको योगदान दिए । कलुम फग्र्युसन १९, म्याथ्यु गिलक्स २८, डानियल साम्स १३ र अर्जुन नायरले १७ रनको योगदान दिए । मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । तीब्र गतिका बलर हरिस रउफले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

योसँगै मेलबर्न स्टार्स ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । एडिलेड स्ट्राइकर्स ५ खेलमा ३ मा जित र हारका साथ दोस्रो स्थानमा छ ।

आजको खेलमा सन्दीप टोलीमा थिएनन् । अघिल्लो खेलको क्रममा घाइते हुँदा सन्दीपलाई मेलबर्न स्टार्सले विश्राम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्