Logo

बुहारीलाई जिम्मेवार बनाउँदै गाउँपालिका



Spread the love

१९ पुस, बोरङ – जिल्लाको बरेङ गाउँपालिकाले जिम्मेवार बुहारी र सम्मानित ज्येष्ठ नागरिक बानाउने भन्दै असल बुहारी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचै वडामा पुगेर बुहारी तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको हो ।

सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक सङ्घसंस्थामा आवद्धता, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घरपरिवार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिकाको शिक्षामा ध्यानलगायतका विषयमा आफ्नो प्रदर्शन राम्रो देखाएका बुहारीको छनोट गरी सम्मान गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । पाँच वडाका ४५ बुहारीलाई गाउँपालिकाले सम्मान गरेको छ । उनीहरुसँगै २८० ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण पनि गाउँपालिकाले निःशुल्करूपमा गराएको थियो । पायकपर्ने स्वास्थ्य संस्थामा पुर्याएर स्वास्थ्य परीक्षण गराई आवश्यक औषधि गाउँपालिकाको तर्फबाट निःशुल्क उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । उनले सम्मानित सबै महिलालाई अझै इमान्दारीपूर्वक सहनशील, सहृदयी, भएर सामाजिक कामसँगै पारिवारिक कामलाई अगाडि बढाउन आग्रह गरे । गाउँपालिकाले बुहारीलाई टोल भेलाको आयोजना गरी सोही कार्यक्रममा सम्मानपत्रले सम्मानित गरेको थियो ।

गाउँपालिकाले सम्मानसँगै सुत्केरी महिलालाई भाले उपहारसमेत बाँडेको छ । “सुत्केरीको पोषणमा राज्यको दायित्व हुन्छ”, उपाध्यक्ष पुनले भने, “हामीले सरकारसँगै भएको अनुभूति दिलाउनका लागि सानो भए पनि सहयोग गरेका हौँ ।” भाले पाउनका लागि महिलाले गाउँपालिकाले बनाएको कार्यविधिअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

नियमानुसार स्वास्थ्यचौकीमा ४, ६, ८, ९ महिनामा गरी चारपटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने महिलाले मात्रै भाले उपहार पाउँछन् । नियमित जाँच र सुरक्षित सुत्केरीका लागि यस्तो नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । यसपटक ४० महिलालाई रातो भाले प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिए । ज्येष्ठ नागरिक सम्मान र महिला लक्षित कार्यक्रमलाई अझ थप व्यवस्थित गर्दै अगाडि बढाउने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्