Logo

मन्त्री पोखरेल भन्छन् , ‘राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण’



Spread the love

२४ पुस, पोखरा। उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताउनुभएको छ । नेकपा कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताउनुभएको हो । बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उहाँले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

पार्टी एकीकरणका अधिकांश काम सकिएको बताउँदै मन्त्री पोखरेलले आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा लामो समयको अस्थिरताका कारण समृद्धि र विकासले अपेक्षित गति लिन नसकेको वास्तविकतामा बनेको वर्तमान स्थिर सरकारले दीर्घकालीन सोचका साथ काम अगाडि बढाइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

सङ्घीय व्यवस्था देशका लागि नयाँ राजनीतिक अभ्यास भएको बताउँदै उहाँले सरकार गठनयता हालसम्मको समय अधिकांश नीति तथा कानून निर्माणमा व्यतित भएको बताउनुभयो । सरकारले आगामी दिनमा विकास लक्षित कार्यक्रम तीव्रताका साथ अघि बढाउने उहाँको भनाइ छ ।

नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले ट्रष्टको विद्यमान नीति नियमअनुसार यसको सम्पत्ति, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय अभिवृद्धिमा उपयोग गरिने व्यवस्था रहेकाले अन्य प्रयोजनका लागि नदिइने स्पष्ट पार्नुभयो । ट्रष्टमा हालसम्म २१ हजार ५०० रोपनी जग्गा र रु एक अर्बभन्दा बढी र शेयरसमेत रहेको जानकारी दिँदै उहाँले पोखराका रत्नमन्दिर, हिमागृहजस्ता सम्पदा प्रदेश सरकारसँग समन्वय गर्दै बृहत् हितमा उपयोग गरिने तयारी भइरहेको बताउनुभयो ।

सीमालगायतका राष्ट्रियतासँग जोडिएका विषय सबैको साझा सरोकारको विषय भएको बताउँदै उहाँले यस सम्बन्धमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतबीच औपचारिक छलफलको प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।

आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदको उम्मेदवारीका लागि पार्टीले आवश्यकता, औचित्य एवं योगदानका आधारमा तय गरेको जानकारी गराउनुभयो । सरकारको बाँकी कार्यविधि जनताले अनुभूति गर्ने किसिमले काम गर्ने बताउँदै उहाँले संविधान कार्यान्वयन पनि सोही गतिमा अघि बढेको जानकारी दिनुभयो ।

पार्टीका कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापा र पार्टी सचिव बखानसिं गुरुङले जिल्लामा विद्यमान पार्टीका समसामयिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्