Logo

प्रदेश नं ३ को नाम र राजधानी सर्वसम्मत हुने



Spread the love

२६ पुस, हेटौँडा। नाम र राजधानीको सम्बन्धमा यहाँ बसेको सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौँडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साथै सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित गराउने निर्णय भएको छ ।

स्थायी राजधानी र नामका विषयमा सर्वसम्मत गराउने प्रयासस्वरुप मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा शुक्रबार अबेर सर्वदलीय बैठक बसेको थियो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस, विवेकशील नेपाली दल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा संयुक्तका प्रदेशसभा सदस्यको उपस्थिति थियो । बैठकमा मुख्यमन्त्री पौडेलले महत्वपूर्ण विषयवस्तुमा यो वा त्यो दल भन्दा पनि सर्वदलीय सहमतिमा निर्णय गर्दा सकारात्मक सन्देश जाने र सकसमा रहेका अन्य प्रदेशले पनि प्रदेश नं ३ ले स्थापित गरेको नजिरबाट समस्या हल गर्न सक्ने बताउनुभयो । उहाँले सकेसम्म स्थायी राजधानीको एउटा मात्र नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मतीलाई सबै दलले समर्थन गरेर जान अनुरोध गर्नुभएको थियो ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले इतिहास लेखाउने बेलामा एक भएर जानुको विकल्प नरहेको बताउनुभयो । “राजनीति चुनावका बेला गर्ने हो, अहिले साझा मुद्दामा सबै दल एक छन् भन्ने सन्देश दिन एकढिक्का भएर निर्णय गर्नुपर्छ”, उहाँले भन्नुभयो । बैठकमा सहभागी हुनुअघि आफ्नो दलको संसदीय दलको बैठक बसेको र बैठकले प्रदेशसभामा प्रस्ताव हुने हेटौँडा र वाग्मतीको पक्षमा मत जाहेर गर्ने सर्वसम्मतिले निर्णय गरेको भन्दै नेता बानियाँले एकता प्रदर्शन गर्नुपर्ने बेलामा तलमाथि हुने देखिए ह्वीप लगाएरै भए पनि अगाडि बढ्ने बताउनुभयो ।

नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिगत रुचि र चाहनाभन्दा पनि माथि उठेर एकता प्रदर्शन गर्नेबेला भएको बताउनुभयो । “हामीभित्र पनि विभिन्न धारणा थिए, अडान थिए तर छलफल र अन्तरक्रियाबाट एउटै धारणा बनाएका छौँ, अब सबै दलको धारणा एउटै भए जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ र राम्रो सन्देश जान्छ”, उहाँले भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशको राजधानी उपत्यकाभित्र वा आसपास हुनुहुँदैन भनेर आफ्नो दलले पहिल्यैदेखि भन्दै आएको बताउनुभयो । उहाँले नामसमेत कुनै जातजाति, धर्म र संस्कृतिलाई प्रतिनिधित्व गर्ने र विवाद निम्त्याउने खालको हुनुहुन्न भन्ने माग रहेकामा हाल अघि सारिएको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती आफूहरुलाई स्वीकार्य हुने बताउनुभयो । राप्रपाका रीता माझीले प्रदेशसभामा ऐतिहासिक सहमति कायम हुनुपर्ने भन्दै नाम वाग्मती र सामरिक महत्वका हिसाबले हेटौँडा राजधानी उपयुक्त हुने बताउनुभयो । राप्रपा संयुक्तका रीना गुरुङले आफूहरु शुरुदेखि नै हेटौँडाको पक्षमा रहेको र राजधानीको नामसमेत साझा आएकाले सर्वसम्मति गराउने मुख्यमन्त्रीको चाहनामा साथ दिने बताउनुभयो ।

छलफलमा विवेकशील नेपाली दलका रमेश पौडेलले आफ्नो दलले कसैले पनि नउठाएका बेला प्रदेश नं ३ को नाम वाग्मती प्रदेश हुनुपर्छ भनेर आवाज उठाउने काम गरेको भन्दै नाममा आपत्ति नरहेको र राजधानीका सम्बन्धमा भने आजसम्म धारणा दिने बताउनुभयो । त्यस्तै विवेकशील साझाकी शोभा शाक्यले आफ्नो दलले नामाङ्कनको बारेमा विगतमै धारणा बनाइसकेकाले वाग्मतीमा समर्थन गर्ने जनाउनुभयो । राजधानीको सम्बन्धमा भने आज आधिकारिक धारणा दिने उहाँले बताउनुभयो ।

प्रदेशसभामा नेकपाका ८०, काँग्रेसका २२, विवेकशील नेपालीका तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका एक, राप्रपा संयुक्तका एक र नयाँ शक्तिका एक गरी ११० सदस्य छन् ।रासस

प्रतिक्रिया दिनुहोस्