Logo

हिउँदमा हिमाल



Spread the love

२७ पुस, काठमाडाैँ – हिउँद याममा नेपालका विभिन्न हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण देखिएको छ । सो याममा उनीहरुले ६ हजार मिटर माथिका तीन हिमाल आरोहणका लागि पर्यटन विभागवाट आरोहण अनुमति लिएका छन् । सगरमाथा, आमादब्लम र नुप्से गरी तीन हिमालका लागि स्पेनका २३ आरोहीले अनुमति लिएका हुन् । सगरमाथा आरोहणका लागि एक समूहका तीन आरोही, नुप्से आरोहणका लागि एक समूहका पाँच आरोही र आमादब्लम आरोहणका लागि एक समूहका १५ आरोहीले अनुमति लिएका हुन् ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार यस याममा चार हिमाल आरोहणका लागि चार देशका २७ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा धेरै स्पेनी आरोहीले अनुमति लिएका हुन् । यसअघि सगरमाथा आरोहणका लागि जर्मनीका हग डेनियल र जोस्ट कोबुचले अनुमति लिएका थिए । उनीहरु विभागबाट आरोहण अनुमति लिएर आधार शिविरतर्फ गइसकेका छन् । यस याममा मात्रै सगरमाथा आरोहणका लागि दुई समूहका पाँच आरोहीले अनुमति लिएका छन्।

विभाग, पर्वतारोहण शाखाका अनुसार गत वर्ष हिउँदमा सगरमाथा आरोहण अनुमति लिने आरोही शून्य रहेकामा सन् २०१८ मा एक समूहलाई आरोहण अनुमति दिइएको थियो । त्यस्तै रोक्पाइ हिमाल आरोहणका लागि अमेरिका र चीनका एकएक आरोहीले अनुमति लिएका छन् । सरकारले चार अङ्ग्रेजी यामलाई तीन भागमा विभाजन गरेर हिमाल आरोहणको शुल्क लिँदै आएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, शरद ऋतुमा त्यसको ५० प्रतिशत अर्थात् पाँच हजार ५ंं०० तथा शिशिर र ग्रीष्ममा शरदको आधा अर्थात् दुई हजार ७५० डलर तोकिएको छ ।

आरोहीले शिशिर र ग्रीष्ममा सगरमाथा आरोहणका लागि दुई हजार ७५० अमेरिकी डलर राजश्व बुझाउनुपर्ने हुन्छ । विभागका अनुसार राजश्वमा भारी छुट पाएसँगै विदेशी आरोही वसन्तबाहेकका समयमा पनि हिमाल आरोहणमा आउन थालेका छन् ।

विभागले आरोहीको मागअनुसार अङ्ग्रेजी चारै याममा आरोहण अनुमति दिएपछि बाह्रै महिना आरोहण खुला भएको छ । “विशेषगरी विन्टर र समर सिजनमा आरोहण अनुमति दिने गरिएको थिएन तर आरोहीले विन्टर र समर सिजनमा समेत अनुमति मागेपछि हिमाल बाह्रै महिना खुला भएको छ”, निर्देशक आचार्यले भने, “आरोहीले आरोहण अनुमति मागे हामी सरकारले खुला गरेको ४१४ वटै हिमाल आरोहणका लागि ३६५ दिन नै अनुमति दिन्छौँ ।” गत वर्षसम्म दुई याममा मात्रै आरोहण अनुमति दिइएकामा यस वर्ष चारै याममा आरोहण अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्