Logo

नेपाली काँग्रेसको असहमति



Spread the love

२७ पुस, काठमाडाैँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएकामा असहमति प्रकट गरेको छ । काँग्रेसले यस विषयलाई सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसद्प्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको आरोप लगाएको छ ।

काँग्रेसले आज विज्ञप्तिमार्फत संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भए पनि तीन महीनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न नसकेको भन्दै विरोध प्रकट गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा नयाँ सभामुख चयनका लागि प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु गलत भएको उल्लेख छ ।

स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिएको भन्दै काँग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई सुझाव दिएको छ । साथै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपासँग काँग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्