Logo

हु किल्ड नान्सी ?



Spread the love

सिड भिसियसको मृत्यु भएको ४१ वर्ष पुग्दैछ । आखिर किन सिड भिसियसले आत्महत्या गरे ? नान्सीलाई कसले मार्यो ? हु किल्ड नान्सी ?
सिड भिसियस बेलायतको लेविशममा सन् १९५७ को मे १० मा जन्मेका थिए । उनको खास नाम सिमोन जोन रिची थियो । सन् १९७३ मा सिडले जोनी रोटनलाई भेटेका थिए ।

जोनी रोटन बेलायती पंकरक ब्यान्ड सेक्स पिस्तोल्सका भोकलिस्ट हुन् । सन् १९७७ मा बेसिस्ट ग्लेन म्याटलकले सेक्स पिस्तोल्स छाडेपछि उनको सट्टामा भिसियस आए । भन्ने गरिन्छ कि खासमा त्यति बेला भिसियसले बेस बजाउन जानेका थिएनन् । सिड भिसियस बेसिस्टमात्र भएको कारणले मिडियामा आउँदैन थिए । उनको लुक्स, लागु औषधीको लत अनि हिंसात्मक व्यवहारबाट पनि चर्चामा आउँथे ।

ब्यान्डको एक मात्र स्टुडियो एल्बम नेभर माइन्ड द बुल्लोक्स, ह्यर्स द सेक्स पिस्तोल्सको रेकर्डिंगकाे दाैरान सिड लागु औधषको कारणले अस्पतालमा भर्ना भएका थिए । खास गरी उनले उक्त एल्बमको गीत ‘बोडिज’ मा मात्र बेस बजाएका छन् । पछि भने उनले प्रमुख गायकको रुपमा तीन वटा गीतमा स्वर दिएका छन् ।


सत्तरीको मध्यतिर पंक रक जनरा फस्टाउँदै थियो । यसैक्रममा सेक्स पिस्तोल्सको पनि ख्याति बढ्दै जान्छ ।
सिड र नान्सीको भेट सन् १९७८ मा लण्डनमा भएको थियो । नान्सी १७ वर्षको उमेरमा लण्डनमा आएकी थिइन् । सिडसँग भेट भएको बेला भने उनी १९ वर्षकी थिइन् । नान्सीले अमेरिका छाडेर लण्डनमा आएपछि चाँडै नै पंकहरुको समूहमा घुलमिल भइन् ।

सिड र नान्सीको मित्रता खुब जम्छ । यतिमात्र होइन, पछि सिडलाई हेरोइन र नान्सीबाहेक केही पनि मन पर्दैन । त्यति बेला सिड र नान्सी मिडियामा खुब छाएका थिए । नान्सी सार्वजनिक स्थानमा हिंसात्मक व्यवहार गरेको गरेको कुरा बारम्बार मिडियामा आएको थियो ।
सन् १९७८ मा ब्यान्ड फुट्छ । ब्यान्ड फुटेपछि सिड र नान्सी न्यू वर्क सिटीको चेल्सी होटेलमा बस्न थाल्छन् । बेलायत छाडी अमेरिका आए पनि उनीहरूकाे पुरानाे जीवनशैलीमा केही पनि परिवर्तन भएकाे थिएन ।  लागु औषध सेवन गर्नको लागि सहज होस् भनेर होटेल मिस्टर एन्ड मिसेज जोन सिमोन रिचीको नामबाट बुक गरेका थिए ।

सन् १९७८ को अक्टोबर १२ मा सिडले नान्सीको मृत शरीर हाृेटेलको बाथरुममा पाउँछ । नान्सीको पेटमा धारिलो हतियारले काटिएको थियो । जुन चक्कुले नान्सीको पेटमा काटिएको थियो उक्त चक्कु सिडले ल्याएका थिए ।

नान्सीको मृत्युपछि सिडलाई हत्याराको अभियोग लाग्छ । उक्त घटनापछि सिडले आफूलाई पनि मार्न खोजेका थिए । सिडले बयान दिने क्रममा हामीबीच झगडा भएको तर मैले केही पनि नगरेको बताए । त्यो दिन उनी निकै नशामा थिए, जसकारणले केही पनि सम्झन सकेनन् ।
नान्सी मरेको ४ महिनापछि सन् १९७९ को फेब्रुअरी २ मा सिड लागुऔषधको ओभरडोजले मृत्यु हुन्छ । उनी जमानतमा जेलबाहिर निस्केको बेलामा मृत्यु भएको थियो ।  सिडको आमाले सिडको ज्याकेटमा सानो कागज फेला पार्छिन् । सुसाइड नोटजस्तो देखिने कागजमा लेखिएको थियो,“हामीले मृत्युको सम्झौता गरेका थियाैँ । मलाइ आधा काम गर्नु नै छ । मलाइ नान्सीको छेउमा गाड्नु । मसँगै मेरो लेदरको ज्याकेट, जिन्स अनि मोटरसाइकल बुट पनि गाड्नु ।”

नान्सी किन मरिन् भनेर धेरै खालका सम्भावित कारणहरु आए । कसैले नान्सी सिडलाई धेरै चाहन्थिन् । सिडको ध्यान पाउनको लागि उनले आफ्नो पेटमा आफै छुरा हानेको भनी विश्वास गर्छन् तर सिड आफै नशामा मग्न थिए । उनले सहयोग गर्न सकेनन् । कसैले नान्सीको हत्या ड्रग्स डिलर्सले गरेको पनि हुन सक्ने आशंका गरे । नान्सीको चिहान नजिकै सिडको अन्त्येष्टि गरिन्छ ।
नान्सी जम्मा २० वर्षकी थिइन् भने सिड जम्मा २२ । उनको हत्या कसले गर्यो अझै पत्तो लागेको छैन । कसैले हत्याको अनुसन्धान नै नभएको बताउँछन् । नान्सीको मृत्युको कारण नखुलेपनि सिडको मृत्युको कारण भने नान्सी बनिन् ।

नान्सीले ब्यान्डका सदस्यहरुलाई लागुऔषधी सप्लाइ गर्थिन् । तर सिड भने ब्यान्डमा आउनुभन्दा पहिला नै लागु औषधको दुव्र्यसनीमा थिए । सिडलाई सेक्स र ड्रग्सको बारेमा राम्रोसँग परिचय नान्सीले नै गराएकी थिइन् । भाग्यको नियति भनौँ या उनीहरुको नशालु व्यवहार । १९ महिनामा उनीहरुको सम्बन्ध यति माथि गयो कि कसैले रोक्न सकेनन् । सिड मरेको दिनलाई रकस्टारहरुले पंक मरेको दिन भनी घोषणा गरेका थिए । सिडले छोटो समयमा पंक मुभमेन्टलाई निकै माथि पुर्याए । सेक्स पिस्तोल्सका लागि उनी एक बेसिस्ट मात्र नभई एक अद्भुत शक्ति थिए ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्