Logo

जाडो तथा शीतलहरबाट ठोरी महोत्सव प्रभावित



Spread the love

२९ पुस, पर्सा – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पश्चिमी पर्साको ठोरीमा आयोजित ‘हात्ती तथा जीप सफारी महोत्सव’ कठ्याङ्ग्रिदो जाडो तथा शीतलहरका कारण प्रभावित भएको छ ।

दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवको आज अन्तिम दिनसम्म करीब ३५ हजार पर्यटकले मात्र अवलोकन गरेको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए । “दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले महोत्सव अवलोकन गर्ने हामीले अनुमान गरेका थियौँ”, उनले भने, “करीब ५० हजारभन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्नुपर्नेमा खराब मौसम तथा शीतलहरका कारण आज अन्तिम दिनसम्म करीब ३५ हजार पर्यटकले मात्र सो महोत्सव अवलोकन गरेका छन् ।”

ठोरीको धार्मिक, ऐतिहासिक तथा पुरातात्विकस्थलको पहिचान, लोककला तथा स्थानीय संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल भ्रमण वर्षको अवसरमा आयोजित सो महोत्सव अत्याधिक जाडो तथा शीतलहरका कारण प्रभावित हुन पुगेको प्रचारप्रसार समितिका संयोजक माधव तिमिल्सिनाले बताए ।

महोत्सवमा ३० प्रतिशत भारतीय तथा ७० प्रतिशत नेपाली पर्यटकले अवलोकन गरेका छन् । ठोरी गाउँपालिका–५ सुवर्णपुरको गढवालाइनमा आयोजित सो महोत्सवमा २६ स्टल राखिएको थियो । महोत्सव अवधिभरी रु एक करोड मूल्य बरावरको आर्थिक कारोवार भएको बताइएको छ ।

यही पुस २५ गतेदेखि २९ गतेसम्म अयोजित सो महोत्सवमा पर्यटनसँग सम्बन्धी सामग्री स्टल राखिएको थियो । महोत्सवले सोचे जस्तो पर्यटक आकर्षित गर्न नसके पनि ठोरीको भावी कार्ययोजना र पर्यटन विकासका सम्भाव्यता अध्ययनका लागि महत्वपूर्ण काम भएको ठोरी होमस्टेका अध्यक्ष शम्भुराम पौडेलले बताए ।

पर्सा जिल्लाको ठोरी गाउँपालिकास्थित रामहरि भाठा, दुर्लभ जनावर आउने घाँसेमैदान, जङ्गली जनावर, दुग्देश्वर महादेव, पर्सा तथा चितवन राष्ट्रिय निकुञ्जको मनमोहक दृश्य, बाघमोर्चा माई, राईधारा, अमृतधारा, झोलुङ्गेपुल, सीता गुफा, सेतो पहाडजस्ता पर्यटकीयस्थल स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्दै आइरहेको छ ।

महोत्सवको मुख्य आकर्षक भनेको हात्ती तथा जीप सफारी, मगर जातीको सांस्कृतिक पहिरन र स्थानीय खानाका परिकार रहेका थिए । महोत्सव सम्पन्न भए पनि हात्ती तथा जीप सफारी नियमित सञ्चालनमा रहने तथा सो सफारी गर्ने स्वदेशी पर्यटकलाई रु ६०० तथा विदेशी पर्यटकलाई रु एक हजार १०० शुल्क निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्