Logo

“का कौवा का मेरो सेलपुरी खा ”



Spread the love

१ माघ, बैतडी। माघे संक्रान्तिको दिन बिहानै कागलाई सेल रोटी दिएर आज सुदूरपश्चिममा नरहरी पर्व मनाईदै छ । घर नजिक काग आएर अतिथि र पाहुना आउने सन्देश दिन्छ भन्ने मान्यता अनुसार माघ १ गतेको बिहानपख नरहरीको उपलक्ष्यमा कागलाई मीठो खानेकुरा दिने चलन रहेको छ । माघ १ गतेका दिन बिहान घर परिवारका सबै सदस्यले नजिकको कुवामा नुहाएर केटा केटीहरुले बिहानै “का कौवा का मेरो सेलपुरी खा ! ” भन्दै घरको धुरीमा सेल पुरी राखेर कागलाई बोलाउने चलन पनि जिवितै छ ।

माघ महिनालाई महात्म्य महिनाका रुपमा मनाउने चलन अनुसार सुदूरपश्चिममा माघ पहिलो दिनलाई नरहरी पर्वका रुपमा मनाउने चलन रहेको संस्कृतिका ज्ञाता चन्द्रमोहन तिवारीले बताए । नरहरी पर्वमा तरुल, तिल र सखरका परिकार समेत खाने चलन रही आएको छ । जाडोमा शरीरलाई उर्जा चाहिने हुँदा तिल र सखरले यसको परिपूर्ति गर्ने भएकोले यस्तो खानेकुरा खाने चलन रहेको तिवारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्