Logo

सुरेन्द्र खनालका दुई कविता



Spread the love

–सुरेन्द्र खनाल 

एउटा बाटाे

एउटा एकान्त पलमा
एउटा निश्चल साँझमा
कसरी दिन पनि वर्षौजस्ता बन्छन्
कसरी साथ पनि माया जस्ता बन्छन्
अनि आँखा खोलेर सोंच्दा
र आँखा बन्द गरेर सोंच्दा
कसरी आँसु पनि हर्ष जस्ता बन्छन्
कसरी मन पनि छायाँ जस्ता बन्छन् ।

एउटा शान्त रातमा
एउटा मीठो अन्धकारमा
कसरी पराइ पनि आफ्नै जस्तै फुल्छन्
कसरी गुनगुन पनि संगीतजस्तै खुल्छन्
अनि आकाशमा टोलाएर हेर्दा
र बादलबीच आफ्नै कथा देख्दा
कसरी डाँडाले नि आफ्नै आँशु रुन्छन्
कसरी ताराले नि बाल्यकाल छुन्छन् ।

एउटा मिठो साथमा
एउटा झरीको यात्रामा
कसरी रित्ता आत्मा भरी–भरी बन्छन्
कसरी सेता भित्ता रंगिचंगी बन्छन्
अनि फर्केर आफैंलाई हेर्दा
र फर्केर लामो सास फेर्दा
कसरी मीठा शब्द तुच्छ वाणी बन्छन्
कसरी सबै अर्थ मिठा सपना बन्छन् ।

एउटा सानो मनमा
एउटा झरेको परेलीमा
कसरी दृश्य सबै कालासेता बन्छन्
कसरी सिधा बाटा धमिला
अनि फेरि तिनै उकाला चढ्दा
र पलपल पाइलापाइला एक्लै एक्लै लड्दा
कसरी पदचाप सुनसान लाग्छन् ।
कसरी आफ्ना सपना आफैबाट भाग्छन् ।

यहाँ

म यहाँ हुँदा
प्यारो यहीं थियो
यहीं बोझ थियो ।

म यहाँ हुँदा
यो संसार मलाई गाह्रो थियो
म बस्ने वरिपरी तुच्छ तिरस्कार थियो
म यहाँ रुँदा
मलाई मेरै आँसु बगाउँदा
यहीं मलाई खुसी थियो
यहीं मलाई दुख थियो ।

म यहाँ हुँदा
ती दुई भित्ताका बीचमा
म कहिले यता दुगुर्थेँ
कहिले उता दुगुर्थेँ
र मैले चाहेको खुसी
यिनै दुइ भित्ता बीच बन्द थियो ।

एउटा ध्वनी थियो
साँझ खोलाको वारिपारी बज्थ्यो
त्यहीं धुन मेरो सुख थियो
त्यहीं धुन दुख थियो ।

प्रगाढ एउटा सूर्य थियो
तर हजार पिल्पिलाउने तारा
म सुर्य हेर्थेँ, म तारा हेर्थेँ
तर अस्ताउँदै एउटा जूुन थियो
त्यहीं जून मेरो आँसु थियो
त्यही जून मेरो हाँसो थियो
म चढ्ने हजार गाडीहरुको
दिक्क लाग्दो ट्याँट्याँ थियो
र थियो एकान्तमा
म हिँड्ने निश्चल सुनसान
तर जे थियो
भित्ताबीच समेटिएको थियो
म यहाँ हुँदा
यहीं तिरस्कार थियो
र यहीं अथाह माया थियो ।

मैले बुझ्न खोजेको कुरा
यहाँ थियो र यहाँ भन्दा अलि माथि थियो
त्यसैले म यहाँ हुँदा
यहाँ भन्दा बाहिर
मेरो एउटा पृथक चाहना थियो
यहाँ उफ्रेर
भित्ता बाहिर देख्ने रहर थियो
यहाँ खाएर
बाहिरको स्वाद हडप्ने मन थियो
र यहाँ पलाएर
बाहिर फुल्ने
सुगन्ध बाहिर फैलाउने आँट थियो
म यहाँं हुँदा
यहीं सपना थियो
यहीं सतह थियो
यहीं ठूलो गहिराइ थियो ।

अब म यहाँ नहुँदा
एउटा पातलो झिल्लीले बेरिएको यहाँभित्र
बाहिर बाट जो देख्न सकिन्न ।
यहाँ सबै छ
र सबै भन्दा प्रगाढ एउटा बिचार छ
त्यो बिचारको विचार
जसमा यहाँ तिमी छौ
जसमा यहाँ संसार छ
मेरो भोगाइको कल्पनामा यहाँ छ
र यहाँ यति बिघ्न ठूलो छ
कि म यहाँ नहुँदा
मैले यहाँको स्पर्श नपाउँदा
यहाँका रंग, स्वाद, स्वर र संगीत
सबै बिराना बन्दा
झिल्ली बाहिर टोलाएर हेर्दा
यहीं भित्ताबीच
म हराएरै कहिले भेटिन नसक्ने शासन छ ।

प्रतिक्रिया दिनुहोस्