Logo

राेम जलिरहेछ, नीराे बाँसुरी बजाइरहेछ ।



Spread the love

–डा. दुर्गाप्रसाद भण्डारी

सम्राट नीरो रोमन सम्राटहरुमा क्रुरतम् शासकहरुमध्ये एक थियो – करिब दुईहजार वर्षपहिले । कथा भन्छ ( नीरोले आफ्नी आमा र आफ्ना अति आदरणीय गुरु, रोमन साहित्यकार र दर्शनका शिखरपुरुष सेनेकाको हत्या गरेको थियो ।) शक्तिको उन्मादमा सामान्यतया मान्छे आफ्नो सिमानालाई अतिक्रमण गरेर आसुरी, दानवीय प्रवृत्तिमा सजिलैसँग प्रवेश गर्दछ । अलेक्जेन्डर महानदेखि लिएर अहिलेका दक्षिण एसियाली र नेपालीहरुको शक्ति उन्मत्तत्तामा यसको परिचय पाइन्छ । यहाँका अधिकांश शक्तिशाली कल्पना र संस्कारको दृष्टिले यति दरिद्र र दिवालिया छन् कि अति नै तुच्छ अधिकार र मादकतामा पनि तिनीहरु आफ्नै पैतालामुनिको जमिनसित विच्छेदित देखिन्छन् । लाग्छ, सबै कुसंस्कृति र बुद्धिहीनहरुको अचेतन गन्तव्य आदर्श नीरो नै हो । यो क्षेत्रका मन्त्रीहरु, तिनीहरुका सल्लाहकारहरु, पत्नीहरु, कर्मचारी र अरु साना ठुला पदाधिकारीहरुको व्यवहार र बोली खबर दिन्छ कि तिनीहरुको बौद्धिक, नैतिक र काल्पनिक स्तर कस्तो छ ।

कुनै पुरुष वा स्त्रीको बारेमा राम्रोसित थाहा पाउनु छ भने उसलाई अधिकार र शक्ति भएको स्थानमा राखिदिनुपर्दछ । अनि उसले आफ्नो संस्कार, बाबुआमा, बाजेबज्यै र निकटका सम्पूर्ण वंशावलीको खबर दिन सुरु गर्दछ । संस्कार र कुसंस्कार दुबैको खबर दिन्छ । शक्तिको नशा र शक्तिशालीहरुको चाकरीबाट प्राप्त गरेको अधिकारको नशाको विभिन्न रुप र अवतरणहरु यहाँ भेट्टाइन्छ । थाहा नपाई नपाईकन तिनीहरु सम्राट नीरो हुन चाहिरहेका हुन्छन् ।

शक्तिको उन्माद र काउकुतीमा नीरोलाई एक बिहान सनक चढ्योः ‘परापूर्वकालमा ट्रायको दशवर्षे युद्धमा ट्राय नगर जलेको थियो । त्यस्तो सम्पन्न र सांस्कृतिक रुपले अति समृद्ध राज्य कसरी जलिरहेको थियो होला ? म आज उत्तेजित छु, त्यो जलनको झलकको अनुकृत हेर्न । म महामन्त्री, मन्त्री, भारदार र सेनालाई रोम नगर जलाउन आदेश दिन्छु ।’ शक्तिशाली सम्राटको आदेश अक्षरशः पालना गरियो । ऐश्वर्यशाली रोम जल्न थाल्यो प्रचण्ड रुपले ।
सम्राट नीरोले आफ्नो सबैभन्दा बढि मनपर्ने बाँसुरी निकाल्यो र बजाउँदै नाच्न थाल्यो आगोको वरिपरि । हाम्रो पौराणिक ताण्डव नृत्यको एक वीभत्स पश्चिमेली अवतरण थियो त्यो नृत्य र त्यो संगीत । इतिहासकारहरुका थरी थरीका बयानहरु छन्, एकथरी भन्छ– केही वर्षपछि नीरोले त्यो प्रचण्ड ज्वालामा आत्मदाह गर्यो, दोस्रो थरी भन्छ– नीरोले आत्महत्या गर्यो, तेस्रो थरी भन्छ– नीरो पागलपनको अन्तिम सीमामा पुगिसकेको थियो र पागलपनमै उसको मृत्यु भयो ।

सत्यतथ्य जे सुकै होस् तर एक सार्वभौम, सनातन सत्य जे भने त्यो घटनाले मनुष्य जातिलाई प्रेषित गरिरहनेछ कि परिष्कानहीन, संस्कारहीन, कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ र साथै उसले शक्ति प्रदर्शन गर्ने सानो वा ठुलो शासन क्षेत्र पनि ध्वस्त हुन्छ ।

सत्यतथ्य जे सुकै होस् तर एक सार्वभौम, सनातन सत्य जे भने त्यो घटनाले मनुष्य जातिलाई प्रेषित गरिरहनेछ कि परिष्कानहीन, संस्कारहीन, कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ र साथै उसले शक्ति प्रदर्शन गर्ने सानो वा ठुलो शासन क्षेत्र पनि ध्वस्त हुन्छ ।

सानो संस्था होस् कि सम्पूर्ण साम्राज्य होस् । मानवजाति नीरोको उदाहरणको बाबजुत त्यहीं गल्ती पटक पटक वीभत्स रुपमा दोहोर्याइरहेको छ ।

नीरोको आगो लगाइले रोमको त्यति हानी भएन जति नीरो अरु धेरै वर्ष बाँचेर शासन चलाएको भए हुन्थ्यो । रोम त केही वर्षभित्र पुन निर्मित हुनसक्छ तर बौलट्ठी शासनको छाप मेटाउन धेरै समय लाग्छ । धेरैजसो एसिया र अफ्रिकाका देशहरुमा धेरै समानता भेटिन्छ । तर सोंच्न सक्ने संवेदना भएका मान्छेहरु एकातिर आफ्नो देशलाई माया गर्दछन् भने अर्कोतिर आफ्नै देशको दुरावस्थाबाट विछुब्द पनि हुन्छन् ।
यस्तो प्रसङ्गमा मलाइ आफ्नो देशको, नेपालको गत पाँच दशक लामो इतिहासतिर एक डेढो विहंगम दृष्टि फ्याँक्ने मन लागिहाल्छ । राणाकालीन समय शान्त थियो, अशिक्षित थियो, निरक्षक थियो, बन्द थियो । अहिलेको तुलनामा भ्रष्टाचार शून्य थियो । पारिवारिक शासनको निरङ्कुशताभित्र सीमित थियो । तर त्यहाँ स्वभाविक हाँसो थियो, स्वतः स्फूर्त नृत्य र गीत थियो । किनकि हामीहरु आधुनिक सभ्यताको हावाबाट त्यति कलुषित भइसकेको थिएनौँ । राणाकालीन अन्धयुगबाट प्रजातान्त्रिकयुगको प्रकाशमा आएको दाबी हामी लगभग ५० वर्ष पहिलेदेखि गरिरहेका छौँ । गत नौ–दश वर्ष यतादेखि त कानै खाने स्वरलहरीमा गरिरहेका छौँ– प्रजातन्त्रको जति यशोगन जुन ध्वनि–आयतन हामीहरु जस्तै स्वतन्त्र भएको अरु कुनै देशले गरेन होला । प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक मूल्यहरुका लागि जति यो देशमा शहीदहरु भए, नेताहरुले सङ्घर्ष गरे त्यति सायद अरु कुनै पछौटे सानो देशमा भएन होलान् ।

आदर्श नेताहरुले कठोर यथार्थसितको तालमेल मिलाउन असाध्य कठिनाइको अनुभव गरे । प्रजातन्त्रको वास्तविक माग हो प्रजातन्त्रभोगीहरुको जिम्मेवारीपूर्ण व्यवहार । आफ्नो अधिकार मात्र होइन, कर्तव्यप्रति पनि सतत सचेतना, औपचारिक शिक्षा होइन, वास्तविक रुपले शिक्षित र संवेदनशील नागरिक समाज, नैतिक मूल्यहरुको निरन्तर चेतना, सामाजिक असमानता र अन्यायबाट द्रबित हुन सक्ने हृदयहरु र चाटुकारिताको कठोर निरुत्साहन, मानवीय गरिमाको प्रोत्साहन, सन्चालन गर्ने नेताहरुमा उदार दृष्टि भविष्यदृष्टि कल्पनाशीलता, निर्णयक्षमता, उदारता र सहनशीलता, आफै भ्रष्टाचारप्रति आकर्षित नहुने र भ्रष्टहरुलाई दण्ड दिन सक्ने साहस, स्वभाविक विनम्रता अथवा दम्भहीनता आदि । हाम्रो देश, हाम्रो समाजको यथार्थ ठीक यसको विपरित हुन गयो ।

अनि पैदा भयो सन्ताप– अन्तरकण नभएका, आत्माहीन, भ्रष्टाचारी, तस्कर, केटी बेचुवा, कमिसनखोर, चाटुकारहरु छाडेर अहिले सम्पूर्ण देशवासीहरु हतास छन्, सन्तप्त छन्, पीडित छन् । इमान्दार र सोझासाझा नेपालीहरुमाथि चारैतिरबाट मार परिरहेको छ । भित्रभित्रै नेपाल मन्द गतिले गलिरहेको छ, खोक्रो हुँदै गइरहेको छ, अशान्त असुरक्षित अनुभव गरिरहेको छ । यस्तो अवस्थाको लागि इतिहासको भण्डारबाट रुपक, प्रतीक प्रतिमान, उपमा खोज्नुपर्दा उचित देखिन्छ । ‘रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ ।’ देश दुर्गतितिर लम्किदै छ, नेपालीहरुमध्ये केही लुटेरा र बातुलहरु बाँसुरी बजाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्