Logo

पश्चिमाञ्चल अस्पतालमा ‘भाइरल लोड’ सेवा शुरु



Spread the love
City hospital building with ambulance and helicopter in flat design.

३ माघ, पोखरा – गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले एचआइभी एड्सबाट सङ्क्रमितहरुको शरीरमा रहेको भाइरलको मात्रा जाँच गर्ने (भाइरल लोड) सेवा शुभारम्भ गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सो सेवाको आज औपचारिक उद्घाटन गरे । यसअघि सो सेवाका लागि राजधानी काठमाडौँ पठाउनुपर्ने र रिर्पोटका दुई महिनाभन्दा लामो समय पर्खनुपर्ने बाध्यता अब हट्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय मातहतको एचआइभी तथा यौन रोग नियन्त्रण महाशाखा(एनटीएएचसी) ले डेढ वर्ष पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सो सेवाका लागि आवश्यक रु. दुई करोड मूल्यपर्ने मेसिन उपलब्ध गराएको थियो । सेवाका लागि मेसिन प्राप्त भए पनि त्यसको सञ्चालन गर्ने जनशक्ति तथा प्रयोग गर्ने केमिकल नहुँदा लामो समय प्रयोगमा आउन नसकेको अस्पतालका प्रयोगशाला विभाग प्रमुख एवं कन्सल्टेन्ट प्याथोलोजिष्ट डा लक्ष्मण बाँस्तोलाले बताए । “मेसिन सञ्चालनका लागि आवश्यक केमिकल र जनशक्ति नहुँदा सेवा शुरु गर्न सकेका थिएनौँ । हाल दुई जना कर्मचारी र आवश्यक केमिकल प्राप्त भएपछि सञ्चालन गरेका हौँ । बिरामीले अब यसका लागि राजधानी जानुपर्ने र नमूना दिएपछि लामो समय पर्खनुपर्ने अवस्था अन्त्य भएको छ ।” बाँस्तोलाले भने ।

हप्तामा एक दिन नमूना लिने र नमूना सङ्कलन गरेको एक हप्ताभित्रमा सम्बन्धित बिरामीलाई रिपोर्ट उपलब्ध गराउने प्रयोगशालाको तयारी छ । यसको परीक्षका लागि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने बताइन्छ । सेवा सञ्चालनबाट गण्डकी प्रदेश तथा यससँग सीमा जोडिएका अन्य प्रदेशका जिल्लाबाट बिरामीले सेवा उपयोग गर्न पाउने अस्पतालका निर्देशक सहायक प्राध्यापक डा अर्जुन आचार्यले बताए । गण्डकीमा दुई हजार ८०० को हाराहारीमा एचआइभी बिरामी रहेकोमा एक हजार २०० ले नियमित औषधि सेवन गर्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्