Logo

गाँजा फडानी



Spread the love

८ माघ, सर्लाही – सर्लाहीको उत्तरी विकट क्षेत्रमा पर्ने नारायणखोलामा अवैधरुपमा लगाइएको लागुऔषध गाँजा फडानी अभियान जारी छ । त्यस क्षेत्रमा गाँजाको बोट फडानी गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा हाल ३० जनाको विशेष टोली खटिएको छ ।

दुई दिनदेखि जिल्लाको लालबन्दी नगरपालिका–१४ नारायणखोलास्थित मोटरदोभानमा रहेको सो टोलीले पाँच बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिसकेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज श्रेष्ठले जानकारी दिए । प्रहरी उपरीक्षक श्रेष्ठ आफैँ पनि मंगलबार मोटरदोभान पुगी गाँजा फडानी अभियानमा सहभागी भएका थिए । त्यहीँ रहेको टोली मोटरदोभान आसपासमा लगाइएको गाँजा नष्ट गरेर मात्रै फर्किने श्रेष्ठले बताए । उत्तरी चुरेक्षेत्र नारायणखोलामा व्यापक मात्रामा व्यावसायिक किसिमले गाँजा खेती भइरहेको सूचना पाएपछि प्रहरीले त्यस क्षेत्रलाई निगरानीमा राखी गाँजा फडानी अभियान चलाइरहेको छ ।

केही दिनअघि सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनबहादुर जीसीसमेत गाँजा फडानीका लागि नारायणखोला पुगेका थिए । त्यस क्षेत्रमा पाखोबारीमा गोडमेल गरी व्यावसायिक किसिमले व्यापक मात्रामा गाँजाखेती भइरहेको पाइएको प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्