Logo

शहीदको सम्झनामा मानव सेवा आश्रम सञ्चालन गर्ने



Spread the love

९ माघ, काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले शहीदको सम्झनामा उद्यान, मानव सेवा आश्रम, अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । आज कामपाको सभाकक्षमा महानगरका प्रमुख तथा शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै संयोजक शाक्यले भने, “शहीद धर्मभक्त माथेमाको स्मृतिमा वडा २३ ओमबहालमा उद्यान निर्माण गर्ने, गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने र शहीद धर्मभक्तकै नाममा ‘शहीद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने निर्णय गरेका छौं ।”

यसैगरी आगामी माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसअनुसार माघ १० गते बिहान ८ बजे टेकु खरीबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यसैगरी माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलि गर्ने कार्यक्रम तय भएको छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकाबाट शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी गरिने छ । उक्त प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुनेछ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले शहीदको सम्मानमा ‘सम्मान गारत’ अर्पण गर्नेछ । त्यसै दिन मध्याह्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।

कार्यक्रमका बारेमा जानकारी दिनुहुँदै प्रमुख शाक्यले प्रजातन्त्र प्राप्तिका लागि विसं १९९७ मा सहादत भएका शहीदहरुले प्राणदण्ड पाएको ठाउँमा पूर्णकदको प्रतिमा राख्ने तायरी रहेको बताए । मूल समारोह समितिको सदस्यमा उपप्र्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, सहसचिव राजेश्वर ज्ञवाली, चार शहीदले सहादत प्राप्त गरेका वडाका अध्यक्ष रहेका छ । त्यस्तै विभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य छन् । विसं २०१२ देखि काठमाडौँ महानगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्