Logo

मुख्यमन्त्री कप प्रदेशस्तरीय फुटबल : गैँडाकोट, त्रिवेणी र भीमाद विजयी



Spread the love

९ माघ, पोखरा – पोखरामा सञ्चालन भइरहेको मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको बुधबार सम्पन्न तीन खेलमा नवलपुरको गैँडाकोट खेलकूद विकास समिति, लमजुङको त्रिवेणी क्लब र तनहुँको भीमाद क्लब विजयी भएका छन् । पोखरा महानगरपालिका–२७ भण्डारढीकस्थित रङ्गशालामा सम्पन्न खेलमा नवलपुरबाट प्रतिनिधित्व गरेको गैँडाकोटले स्याङ्जाको होराइजन क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । नवलपुरका लागि खेलको ११औँ मिनेटमा खुशलप्रताप गुरुङले पहिलो गोल गरेका थिए । त्यसैगरी सुरेन्द्र गुरुङले १३औँ र १५औँ मिनेटमा गरी २ गोल थपे । स्याङ्जाका लागि ४१औँ मिनेटमा सफल थापाले गोल गरेका थिए ।

दोस्रो खेलमा लमजुङको त्रिवेणी क्लबले मनाङकोे डाँफे युवा २–१ गोलअन्तरले पराजित गर्न सफल भयो । लमजुङले खेलको पाँचौँ मिनेटमा आषिक गुरुङको गोलबाट खेलमा अग्रता लिएको थियो । खेलको ३३औँ मिनेटमा उज्जवल शाहीले अर्को १ गोल गर्दै अग्रता दोब्बर बनाए । मनाङले पहिलो हाफमा थप गरिएको दुई मिनेटको अतिरिक्त समयको पहिलो मिनेटमा १ गोल फर्कायो । मनाङका कर्ण गुरुङको खेलमा गोल गरेका थिए ।

भीमाद क्लब तनहुँ र बागलुङ जिल्ला फुटबल सङ्घका बीचमा भएको अन्तिम खेलमा भीमाद १–० गोलअन्तरले विजयी भएको छ । भीमादका दीपक थापाले खेलको १०औँ मिनेटमा गोल गरेको म्याच कमिशनर एलबी ज्वारचनले जानकारी दिए । प्रतियोगितामा गण्डकीका नौ जिल्लाका लिग च्याम्पियन क्लबहरुको सहभागिता छ । माघ १४ गते हुने प्रतियोगिताको फाइनल खेलमा विजेतालाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट डिफेन्स, गोलकिपर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर र प्रशिक्षकलाई समेत जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने लिग कमिटीका संयोजक एवं (एन्फा) केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्