Logo

भलिबल क्लब च्याम्पियनसिप ः सेमिफाइनल समीकरण पूरा



Spread the love

९ माघ, काठमाडाैँ – पाँचौँ सस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुष तथा महिला स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । अब सेमिफाइनलमा आर्मीले एपीएफसित तथा पुलिस क्लबले र हेल्प नेपालसित सेमिफाइनल खेल्नेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटले हरायो । सो खेलमा आर्मी २५–१९, २५–१८ र २५–१७ अंकले विजयी भयो ।

यस्तै अर्को खेलमा पुलिस क्लबले नयाँबजार क्लबलाई ३–० सेटमै पराजित गर्यो । पुलिस २५–११, २५–१० र २५–१२ अङ्कका साथ विजयी भएको हो । यसैगरी तेस्रो खेलमा एपीएफ क्लबले बुद्धटोल युवा भलिबल क्लबलाई ३–० सेटले हरायो । उक्त खेलमा एपीएफ २५–१८, २५–१७ र २५–११ अङ्कले विजयी भयो । अन्तिम क्वाटरफाइनलमा हेल्प नेपालले बुलबुले रारा क्लबलाई ३–० सेटले हरायो । हेल्प नेपाल २५–१६, २५–२० र २५–१९ अङ्कले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

यसैगरी महिला भलिबलमा एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस् क्लब तथा त्रिभुवन आर्मी क्लब यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । महिला भलिबलमा एपीएफ क्लब र पुलिस क्लबबीच तथा आर्मी र न्यु डायमण्ड स्पोस्र्टस् क्लबबीच सेमिफाइनल खेल हुनेछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्