Logo

अन्यायकाे कथा




–दाेसर कटेल

दुनियाँमा खोज्दै जाँदा खालखालका मान्छे तथा तिनका खालखालका जीवन भोगाइ भेटिन्छन् । कोही अन्याय गर्छन् त कोही त्यसको सिकार बन्छन् तर त्यो दर्द, पीडा चुपचाप सहन्छन् ताकि दुनियाँलाई लागोस् त्यसमाथि तिलभर पनि आघात परेकाे छैन ।

आज म यस्तो कथा भन्दै छु, जुन कथा अरूको नभई मेरै कथा हो । मैले भोगेको, सहेको अनि म बाँचेको युगले जबरजस्ती ममाथि थोपरेको अन्यायको कथा, बर्बरताको कथा अनि दुनियाँका अगाडि लुकाइएको एउटा अभिशप्त जीवनको कथा, तिरस्कार र निशेधको कथा धेरैले सुनेको तर नबुझेको कथा । हेरेको तर नदेखेको कथा, एउटा विरह व्यथाको कथा, आँसु र पिरको कथा, अन्याय र उत्पीडनको कथा ।

अब तपाईंलाई लाग्न सक्छ तँ को होस र हामीले किन तेरो कथा सुन्ने ? पख्नुहोस् न हतार नगर्नोस् । कथा सुन्न थालेपछि तपाईंलाई लाग्न सक्छ, ए यो त साँच्चिकै सुन्न लायक कथा छ ।

म फेरि विषयान्तर भएँ । हो, म त्यहीं अपहेलित, घृणित, र त्याज्य पात्र हुँ जसलाई सबले तिरस्कार मात्र गरिरहे । मात्र तीन जनाले अपनाए, स्वीकारे अनि प्रेमले आलिङ्गन गरे । बाँकी सबको प्रत्यक्ष परोक्ष रुपमा हेला, तिरस्कार सहिरहेँ । त्यतिमात्र कहाँ हो र ? समयले समेत ममाथि अन्याय गर्यो, मलाई खलनायकका रुपमा चिनाएर गुण लुकाई दोष मात्र देखायो ।

हो, म त्यहीं पात्र हुँ जसलाई दुनियाँले कर्णका रुपमा चिन्यो तर म आफूलाई कर्ण नभई राधेयका रुपमा चिनाउन पाउँदा खुशी हुन्छु । आम मान्छेका रुपमा हतभागी पुत्रका रुपमा ।

अन्यायको शृङ्खला त ममाथि जन्मनासाथ सुरु भयो । स्वयम् जन्म दिने आमा जसलाई म कुन्ती नभई पृथाका रुपमा चिन्छु । जसले मलाई सूर्यको सम्भोगबाट जन्माएर नाजायज सन्तानका रुपमा व्यवहार गरिन् । यसमा मेरो के दोष थियो ? के म मेरो रहरले वा इच्छाले जन्मको थिएँ र ? भावी परिणामको ख्यालै नगरी उनले किन दुर्वासाद्वारा प्राप्त वंशीकरण मन्त्र प्रयोग गरिन् ? के उनमा सल्केको यौवनको आगो रोक्न नसक्दाको गम्भीर परिणाम थियो त्यो घटना ? म के अर्थ लगाऊँ ? त्यसमा गल्ती कसैको छ भने स्वयम् कुन्तीकै छ । त्यसो भए किन दुनियाँ मलाई नाजायज, बिना बाउको छोरा, बतासे भन्दै चोर औंलो ठड्याउँछ ?

आमा त सन्तानका निम्ति जीवनदायिनी श्रोत हुनु पर्ने होइन र ? मेरा लागि त मेरी आमा स्वयम् यमराज बनेर प्रकट भईन् । धन्न मेरो अहोभाग्य ! म बचेँ । नत्र कुन आमाले नौ महिना गर्भमा बोकेको सन्तानलाई मर्नका लागि कसरी उर्लंदो भेलमा होम्न सक्छे ? के नौ महिनाको गर्भ बोक्दैमा कोही पूर्णरुपेण माता बन्न सक्छे ? उसले सन्तानलाई लाम्टा चुसाउनु पर्दैन ? के हाम्रो दर्शन र शास्त्र दूध नचुसाई कोही पनि स्त्री माता बन्न सक्दिनन्, केवल आमा मात्र बन्न सक्छे भन्दैन ? के उसले आफ्ना सन्तानलाई लाडप्यारले चाट्नु पर्दैन ? प्यारले मुसार्नु पर्दैन ? शिरमा हात राखी दीर्घायुको आशिष् दिनु पर्दैन ? के माताको ममत्व समाजका लान्छनाका अगाडि झुक्न सक्छ ? के कुन्ती आज आफ्ना सन्तानलाई नाजायज भन्दै खोलामा बगाउने आधुनिक भनाउँदा आमाहरूले गर्ने कुकृत्यकी एक मात्र गुरुमा हुन् त ? अब तपाईं नै भन्नोस, स्वयम् आमाबाटै तिरस्कृत सन्तानलाई दुनियाँले कसरी अपनाउला ? त्यसैले अन्यायको प्रथम लबटो नै मेरी आमाले ममाथि बजारिन्, जुन जीवनभरिका लागि अभिशाप बन्न पुग्यो ।

धन्न मेरो भाग्य ! अधिरथले भेटेर मलाई धर्मपुत्र बनाए । राधाले लाम्टो चुसाएर बचाइन्, नत्र खेल खत्तम । लान्छना त उनलाई पनि लगायो होला समाजले । वर्षौँ निसन्तान रहेकी नारीको काख एक्कासि भरिंदा ? तर उनको ममत्व कुन्तीको जत्ति कमजोर थिएन कि दुनियाँका सामु कमजोर सावित् होस् । मित्र दुर्योधनले पनि मलाई अपनाए हृदयमा स्थान दिएर ।

आमाबाट सुरु भएको ममाथिको सिलसिला त्यसै कहाँ रोकिन्थ्यो र । ज्ञानको भोकले भौतारिंदै सर्वश्रेष्ठ कहलिएका आचार्य द्रोणकहाँ पुग्दा समेत मैले त्यहीं नियति भोग्नु पर्यो । उनले मलाई सुतपुत्र ( अजात) भएकै आधारमा शस्त्रास्त्र सिक्न अयोग्य भएको घोषणा गर्दै आश्रमबाट घोक्रेठ्याक लगाइदिए ।

आमाबाट सुरु भएको ममाथिको सिलसिला त्यसै कहाँ रोकिन्थ्यो र । ज्ञानको भोकले भौतारिंदै सर्वश्रेष्ठ कहलिएका आचार्य द्रोणकहाँ पुग्दा समेत मैले त्यहीं नियति भोग्नु पर्यो । उनले मलाई सुतपुत्र ( अजात) भएकै आधारमा शस्त्रास्त्र सिक्न अयोग्य भएको घोषणा गर्दै आश्रमबाट घोक्रेठ्याक लगाइदिए ।

के ज्ञानार्जनका लागि छुत हुनु नै योग्यताको कसी हो त ? के यो एउटा आदर्श, अनुभवी, सर्वश्रेष्ठ र विख्यात शिक्षकका लागि शोभनीय कुरा हो ? यदि हो भने धिक्कार छ, उनको त्यो आदर्श छविलाई, त्यो अनुभव, सर्वश्रेष्ठता र ख्यातिलाई । के उनको आँखाले केवल शिष्यको जात मात्र देख्थ्यो अनि उसको जात र झुत्रा वस्त्रभित्र लुकेको ज्ञानको भोक, केही बन्न खोज्ने हुटहुटी अनि मेरा नशा नशामा बगेको सौर्य, वीरता र क्षेत्रीयता चाहिँ देख्दैनथ्यो ? यदि त्यसै हो भने द्रोणको महानता, श्रेष्ठता, अनुभव र गुरुतालाई म के नाम दिऊँ ?

ममाथिको अन्यायको जाँतो दर्सिरह्यो, बर्सी नै रह्यो । द्रोणबाट भोगेको तिरस्कारको ज्वाला निभ्न नपाउँदै त्यहीं तृष्णा र व्यर्गतासहित ज्ञान लिनका लागि जगतले मानेका स्वयम् साक्षात् विष्णुका अवतार परशुरामकहाँ पुगेको मैले पुनः अपमानित हुनु पर्यो । जात ढाँट्नु पर्यो, परशुरामले खाएको कसमका कारण । मानिसले बाध्यात्मक परिस्थितिमा आफ्नै नाकमा कालो दलेर जसले जहाँ भन्छ त्यहीं ल्याप्चे लगाउनु पर्छ भन्थे हो रहेछ ।

अपमानको घुट्को पिएरै भए पनि शास्त्रास्त्र सिक्न सफल भएको मलाई पिता समान गुरुलाई आघात पुर्याउन लागेको किराबाट जोगाएको निहुँमा मैले आजसम्म सकेको विद्या आपतमा काम नलाग्ने भन्ने श्राप पाउनु पर्यो । पिता समान देवता समान स्वयम् गुरुबाट उन्नति र प्रगतिको आशीर्वचनको बदला विद्या नै नष्ट हुने श्राप पाउँदा ममा के बित्यो होला ? कसले अनुमान लाउने ? मबाट गल्ती भएकै हो । त्यतिबेला म निर्विकल्प थिएँ । सबै बाटा बन्द भएपछि मानिससँग भएको विकल्प भनेकै मर्नुभन्दा बहुुलाउनु निको होइन र ? सानो गल्ती गर्दैमा गुरुले शिष्यको कान समातेर नसियत दिने कि विद्या नास् होस भन्दै श्राप ?

गुरुबाट आशीर्वचनका रुपमा पाएको आपतम् विद्या नष्ट हुने श्राप भारी थाप्लामा बोकेर शस्त्रकौशल प्रदर्शन गर्न हस्तिनापुर पुगेको मलाई पुनःआचार्य द्रोणले अपमान गरेर राजकुमार नभएको निहुँमा । के त्यो राज्य वैभव प्रदर्शन गर्ने समारोह थियो कि शस्त्रकौशल ? यदि कौशल नै देखाउनु पर्ने भए किन हठात् बनिबनाउ रुपमा राजकुमार हुनुपर्ने सर्त प्रस्तुत गरियो ? एकाएक किन ममाथि बन्देज ? के मसँग आचार्य डराएका हुन ? के त्यसो भए उनको गुरुत्व त्यति कमजोर थियो ?

द्रौपदी स्वयम्वरमा समेत मलाई डाकेर कुट्नुका साथै मेरो मानमर्दन भयो । स्वयम्वर समारोहको निमन्त्रणा पत्रमा कतै उल्लेख नै नगरिएको सर्त आफसेआफ खडा गरी क्षेत्रीय राजकुमार हुनुपर्ने भन्दै मलाई अपमानित गरियो । न त त्यहाँ उपस्थित कुनै निम्तालुले त्यस प्रकारको अन्यायको विरोध गरे न त चुँ सम्म आवाज निकाले । अरु त अरु स्वयम् द्रौपतीका पिता द्रुपदले समेत केही नबोलेर ममाथि भएको अत्याचारको मौन समर्थन गरे । प्रकारान्तले अर्जुनलाई नै ज्वाँइ रोज्नु थियो भने त्यत्रो नाटक मन्चन किन गरियो ?

आमा भनाउँदी कुन्तीबाट त म पटकपटक हेपिएको छु । वर्षौ अघि लोकलाजका अघि घुँडा टेकेको उनको ममत्व म जीवित रहेको खबर कृष्णका मुखबाट सुनेपछि त्यो पनि आफ्ना पुत्रको प्राण सङ्कटमा परेपछि एकाएक ज्वालामुखी सलबलायो । उनी कुन मुखले त्यो पनि आफैबाट परित्यक्त छोराका अघि पाण्डवको प्राण दान माग्न आउन सकेकी होलिन ? यो कस्तो विडम्बना ! अनि मैले चाहिँ उनका आँसु र बनावटी ( मेरा लागि) कथामा विश्वस्त भई जसरी भए पनि उनका पुत्रको प्राण रक्षा गरिदिने वचन दिनुपर्ने, आफ्नै जीवनको दाउ हारेर ?

अरु त अरु परमप्रभु नारायणका साक्षात् अवतार रहेका श्रीकृष्ण समेत ममाथि शोषण गर्न पछि परेनन् । आफ्ना प्रिय पात्र अर्जुनको हार निश्चित देखेपछि इन्द्रलाई नक्कली जोगी बनाएर त्यो पनि मेरो दानको समय जुन मेरो शक्ति र कमजोरी दुवै थियो । त्यहीं मौका पारी मैले मेरा जैविक पिता सूर्यबाट जन्मजात वरदानका रुपमा प्रप्त गरेको कुुन्डल र कवज समेत छिनी छाडे । स्वयम् कृष्णबाटै अन्याय सहन बाध्य भनेको म कहाँ न्यायको फिराद गरूँ ? कहाँ गएर किटानी जहेरी हालूँ ? मेरा लागि त रक्षक नै भक्षक पो भैदिए ।

युद्धको मोर्चामा पनि ममाथि हुँदै आएका अन्याय, छलकपट, धोकाधडी र अपमानको शृङ्खला रोकिएन । हुन त युद्धको स्वभाव नै यस्तै हुन्छ । जहाँ कुनै नियम र सिद्धान्तले काम गर्दैन । तर त्यो युद्ध सामान्य युद्ध थिएन, त्यो त धर्मयुद्ध थियो, त्यसका आफ्नै नियम थिएन । दुवै पक्षले बसेर युद्धका नियमको मस्यौदा गरेका थिए । रगतले ल्याप्चे गरेका थिए । नियमानुसार युद्ध गर्छौँ भनेर । के त्यो मेरा लागि मात्र धर्मयुद्ध थियो नत्र किन म निहत्था भएको बेला, निशस्त्र रहेको बेला त्यसमा पनि पिठपछि प्रहार नगर्ने सर्त बमोजिम कृष्णको आदेशमा आफ्नै अनुज अर्जुनद्वारा छोडिएको वाणले किन मेरो प्राण हरण गरियो ? के यो अन्यायको पराकाष्ठा होइन ? के अब कसैले कुरुक्षेत्रको युद्ध र कुरुक्षेत्रलाई क्रमश धर्मयुद्ध र धर्मक्षेत्र मान्ला त ?

मानिस जिउँदो छँदाको कुरा त बेग्लै हुन्छ । मरेपछि त उसको नियति फेरिनु पर्ने हो नि होइन ? तर यो प्रसङ्गमा पनि म अभागी नै सावित भएँ । कारण मृत्यु पश्चात् पनि मलाई दुनियाँले खलनायककै रुपमा चिनाउने दुष्प्रयास गरिरह्यो । कसैले मेरो त्याग, बलिदानी, संघर्ष, दानशीलता, र ममाथि भएका दमन, अन्याय, तिरष्कार, उत्पीडन देखेनन्, कठै भनेनन् । आज पनि मलाई महाभारतको खलपात्रका रुपमा चिनाउने प्रयत्न गरिंदै छ । जसका कारण पुरै संसारमा युद्धको झन्झावत फैलियो उसलाई कसैले एक नजर समेत लगाउन भ्याएको छैन । आखिर ममाथि मात्र यस्तो अन्याय किन ? यस्तो अत्याचार किन ? आखिर मबाट के त्यस्तो अक्षम्य अपराध भएको थियो र ?

के जन्मनासाथ नाजायज भनिनु, आमाबाटै तिरष्कृत हुनु, गुरुबाट त्यागिनु र श्रापित हुनु, कथित अछुत जातमा हुर्किनु, अनि आफ्नै प्रयत्नले खडा भएर समाजमा एउता छवि कायम गर्नु, आजीवन मित्रता र कर्तव्यपथमा हिमाल झैँ अटल रहनु ममाथि गरिएका र गरिँदै आएका अन्यायका कारण हुन् त ? यदि त्यसो हो भने यसमा मेरो के दोष ? के त्यसो भए अब कसैले आत्मप्रयत्नद्वारा माथि उठ्ने र कर्तव्यपथमा खडा रहने सत्प्रयास छाडिदिए भयो त ?

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्