Logo

पाँचौटा चाहिने कुराहरु



–महाकवि लक्ष्मीप्रसाद देवकाेटा

दुनियाँमा पाँचऔटा चाहिने कुराहरु छन्– ईश्वर, आत्मा, स्वर्ग, नरक, धर्म ।
ईश्वरविना संसार नै शून्य छ । कारण नभई कार्य हुँदैन । हामी उनी छन् को विश्वासमा जीवन धारण गर्दछौँ । यत्रो विश्वको काँट र अडान देख्दादेख्तै यसमा चैतन्ययुक्त महापुरुषको सत्ता देखिदैंन भन्नु अन्धोपन हो ।

यो अनन्ततामा एक ठाउँ खडबड परे कत्रो विप्लब मच्चिन्छ तर अणु–अणु संगत भएका छन्, ताराको त्यत्रो जगड्वाल चाल छ, तर टक्कर छैन, समय र देशमा अभिप्रायपूर्वकका व्यापार देखिन्छन्, सूर्यचन्द्र नीतिको उचित कालीनतासँग काम गर्दछन् । रुखहरुलाई बीउभित्र हालिदिएको छ, बीउहरुलाई रुखभित्र । दानामा विश्व छ र विश्वमा दाना । यो मिलाप, यो दराज, यो रौंप्रमाण तौल, यी चक्रहरु, यी उचित कालीनताका क्रमहरु सबै भन्दछन्– दिव्य चैतन्य भन्ने कल्पना होइन तर संसारको सत्य हो ।

चित्, संगति, साम्य अभिप्राय– यिनीहरुबाट हामी ईश्वरको सत्ता मान्दछौँ । जडबाट चैतन्य आउँदैन भने यो चैतन्यको मुहान कहीं हुनुपर्छ । त्यो विराट चैतन्यलाई परब्रह्म भन्दछन्– त्यस अवस्थामा, जब विश्वसृष्टि हुनु बाँकी नै थियो, जब इन्द्रियहरुको प्रादुर्भाव भएको थिएन । उनी व्याप्त थिए, विशिष्ट भएका थिएनन् । जब प्रथम कामको स्फुरणसाथ उनी सिर्जना आभासित गर्न लागे, अनि उनको स्वरुप व्यक्त हुँदा स्रष्टाको प्रादुर्भाव भयो । त्यस अवस्थामा मूर्त भएका विश्वस्रष्जटा हाम्रा ईश्वर हुन् ।

ईश्वरसत्ताका प्रमाणहरु धेरै हुँदा हुन्, तर म न दार्शनिक हुँ, न वेदान्ती । म आफै सहज बुद्धिले फेला पारेका कुराहरु बहस गर्दछु ।
चित् संगति, अभिप्रायको प्रमाण पहिले नै झल्काइसकियो । कार्यरुप विश्व भएपछि कारणरुप कर्ता सजिलो न्यायबाट निस्कन्छ । वैज्ञानिकहरु अन्धो काकताली सम्झेर प्रकृतिलाई देखाउँछन् तर विश्वमा अन्धता छैन । त्यहाँ अराजकता देखिन्न । रुखका जरामा पनि दिव्य अभिप्रायको अदृश्य औंला काम गरिरहेको जस्तो देखिन्छ ।

जडको शून्यताउपर केही अर्कै आभास स्थिति भइरहेको छ, मिलाप दिइरहेको छ, बनाइरहेछ, आकार मेटिरहेछ । ताराका रेखाहरुमा पनि दिव्य झल्किरहेकै छ । अनि तेस्रो कुरा– हामी विरोधको द्धन्द्धमा साम्य पाइरहेछौँ, मानौँ ती दुबै विरोधी कुराहरु एकै सत्ताबाट क्रियात्मक रुपमा आभासित छन् । चौथो चिज यो हो कि जडमा स्वत क्रिया हुँदैन, क्रिया गर्ने कर्ता सहजसँग प्रमाणित हुन्छ । पाचौँ कुरा हामी संसारमा दिव्य नीतिको संकेत पाइरहेछौँ, यहाँ द्धन्द्धको ऐक्यमा नै शान्ति र सत्य भेट्टाइन्छ । दुखहरुमा परमेश्वर सम्झाउने र सत्य संकेतिक अभिप्राय स्पष्टीकृत छ र हामी असत्यको राहले शान्ति पाउँदैनौ । सौन्दर्य सत्यबाट झल्कन्छ र चराहरुको मधुरता परमात्माहरुको आनन्दको लागि पाइएको जस्तो बुझिन्छ । माधुर्य परप्रेममा आभासित हुन्छ र विश्वोपयोगितामा चीजहरुले सौन्दर्य लिएजस्तो प्रतीत हुन्छ । तब स्पष्ट हुन जान्छ कि चराचरमा दिव्य नीतिकै शासन रहेछ ।

छैटौँ कुरा ईश्वरीय चेत नभई मानवमन प्रकृति विकास पाउन सक्तैन, गडबडिन्छ । कट्टर नैतिक पनि टुटफुटको अँधेरीमा पर्दछ । सब तार सुरमा मिल्दैनन् । नास्तिकापत्तिहरुद्धारा संघर्षण र विश्वस्थितिमा गडबडीहरुका प्रणाशक उपाधिहरु उत्पन्न हुन्छन् । सातौँ कुरा परमेश्वरमा विश्वास नगरी कुनै आत्माले संसार छाड्न सक्तैन । यो सबै मनुष्यजातिको त्यस बेलाको अनुभवमा म निर्धारित राख्तछु, जब यिनीहरुको प्राण गलामा आइपुगेको हुन्छ । हाम्रो मरणासन्न प्रकृत आध्यात्मिक ध्वनि हे ईश्वर को पुकारसँग जीवन समर्पण नगरी सक्तैनौँ । आठौँ प्रमाण– हामी प्रेमको आभासमा पाउँछौँ । सिर्जनाको अनन्त करुणाको रुपमा देखा पर्दछ । जीवनलाई सच्चा आनन्द दिन सूचना भएका सामग्रीहरु झैं संसारमा सब चीजहरु आभासित भएझैं लाग्छ । तिनमा उपभोगहरुबाट पाइने आनन्दउपर एउटा यस्तो राम्रो दिव्य प्रेम तत्व झल्किन्छ कि त्यसबाट ईश्वरको सहानुभौतिक सादृश्य (मनुष्यको रुपनजिकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् ।

हाम्रो जीवन र आनन्दोपभोगिता त्यहीं प्रेमतत्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस प्रेमीको व्यक्तिकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई । नवम प्रमाण विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरुद्धारा यो कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्व विश्वलाई परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौँ प्रमाण–मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ । यो अदृश्यको पर्दामा आड लिएर जवाफ लिने हामीसँग सूक्ष्म मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्वको रुपमा एघारौँ प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे वेदान्तीको काल्पनिक शून्यप्राय चैतन्यमा निर्धारित हुन चाहंदैनौँ । हामी मूर्तिमान् घनिष्ठता चाहन्छौँ । हामी सजिवता भएका ईश्वरका प्रमाण चाहन्छौँ । मूर्तिमत्तालाई टाढा जानु पर्दैन । जुन विराट चैतन्यले शून्यबाट विश्वलाई मूर्ति बनायो, स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ । मायाको सबल स्वरुपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर। ढुङ्गा जस्ता छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका अनन्त कठोरता क्रिया गर्दछन्– सत् शिव सुन्दरका सभामा ।

जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यहीं स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरु सान्निध्यमा बास पाउँछन् । त्यहाँ अमृत छ, दुखको अभाव । मूर्ति भएपछि स्वर्ग छैन भन्नु अन्धता र अविवेकी हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको स्थान स्वर्ग या बैकुण्ठ हो ।

जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यहीं स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरु सान्निध्यमा बास पाउँछन् । त्यहाँ अमृत छ, दुखको अभाव । मूर्ति भएपछि स्वर्ग छैन भन्नु अन्धता र अविवेकी हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको स्थान स्वर्ग या बैकुण्ठ हो ।

मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ । रासायनिक संमिश्रणहरुको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य अभिप्रायसंम्पन्न छ । मृत्युभन्दा पारिका कुराहरु हामी थाहा पाउन सक्छौँ ।
भूतहरु, भूतविद्यालयहरुद्धारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीििरक अस्तित्वभित्र आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ । तब आत्माका अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाइ लेखाउँदैन, चित्को क्रियाले लेखाउँछ, चित्को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र परलोकभागिता स्पष्टै छँदैछ ।

यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ र नरकदेखि डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा पुग्दछ । पापले उसलाई अन्तज्वर्लन दिन्छ । उसका निमित्त पाप भनेको अन्तकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव् क्रियामा रहन्छ र ईश्वरेच्छाले संसार त्याग गरेर आफ्नो स्थान लिन जान्छ । उसको जवाफदेही अनन्त छ, उसका भाव र विचारहरु सब उत्तरदायित्व भावी फल धारण गर्दछन् र उ ईश्वर नसम्झी संसार त्याग गर्न सक्तैन ।
यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि स्वर्ग जान्छ, नत्र पापहरुको मैला भारी बोकेर नरक जान्छ । व्यक्ति भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं सिद्ध तत्वद्धारा नरक पनि सिद्ध छ ।
अरु पाँचौ कुरा धर्म हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ । जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ, त्यसलाई धर्म मानिन्छ ।

धर्म कोही जातिलाई बताएथे । कुनैलाई वैकासिक क्रमहरुद्धारा ऋषि, साधु, सन्तुहरुबाट मिल्छ । तर प्राथमिक अवस्थामा धर्मको मूल जादुले छुन्छ, मुखरित हुन्छ– जातिको अनन्त कल्याण, सुख र स्वर्गको लागि । ईश्वरवाणी होइन भन्ने वैज्ञानिक शङ्काधारीहरु भूल गर्दछन् किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस् तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरुमा वाणी सजिलैसँग चिनिन्छ । त्यहाँ ईश्वरीय चमत्कार छ । म सानो झुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कति कठिनता र कति अनन्त सूक्ष्मताहरुको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेका अणुमा काँट र तौल छ, तर दिव्यताको ।
तब धर्मको जरुरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त भूलभूलैमा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।

तर यी पाँच कुरा जहाँ छन्, त्यहाँ अनन्त जीवन र अनन्त शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन् । ईश्वरविना ऐंडी हुँदैन, आत्मविना माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र धर्मविना बाटो हुँदैन ।

प्रतिक्रिया दिनुहोस्