Logo

गलत नम्बर



–सुजन अधिकारी

पुस महिनाको एक शनिवार । अक्सर शनिवारको दिन सूर्य नारायण छुट्टी मनाउन जान्थे । आज ओभरटाईम गर्दै थिएँ क्यार । पूर्ण तेजका साथ धर्तिका कुना कप्चेरामा छरिएका थिए । कहिले नलाग्ने घाम नलागेर होला, मलाई सदाभन्दा फरक अनुभूत गराउँदै थियो । लागिरहेछ आजको दिन केही शुभ बित्ने छ । आजको दिन मेरा लागि पनि घाम लाग्ने छ । तर अनिश्चित आशाको के भर ? समय उफारिएको सिक्का जस्तै हो । क्षणभरमा मौसम परिवर्तन भए झैँ परिवर्तन हुन पनि त सक्छ । आशा निराशामा परिवर्तन हुन बेर लाग्दैन । नाइ मैले आशावादी हुने गल्ती दोहार्याउनु हुँदैन ।

मनमा यस्तै अनेक तर्क खेलाउदै, बानेश्वरका गल्लीहरुमा भड्किंदै थिएँ । एक्कासी गोजीभित्रको फोन बज्यो । भाइब्रेसनले झस्किएँ पनि ।अचेल दिन झस्किनु पर्ने नै भएर होला सायद ।
पकेटको मोबाईल छाती अघिल्तिर ल्याएर हेरेँ । फोन नम्बर धनी रमेश रहेछ । फाेन नउठाइकन हातले धर पाएन । मनले उठाउन नमान्दा नमान्दै औलाले आफ्नो गति लिइसकेछ ।

घाँटी छेउबाट फोन कानमा पुर्याउँदै बोले,“अँ यारा भन् ।”
“के छ केटा ? कता छस्  ?” उसले भन्यो ।
“म…. यार कता हुनु, संसद भवन पीपलबोट छेउ रल्लदै छु । अनि तँ ?”
“म नि बानेश्वरतिरै छु प्यारे । पाँच मिनेट रुक है । म नि त्यतै आउँछु । धेरै भो तँसँग भेट नभएको ।” रमेशले एकै सासमा न्यास्रो पोख्यो ।
हवस्, हुन्छ । यति भनेर उसले फोन काट्यो । म उसलाई कुर्न लागेँ ।

रमेश यहीं काठमाडौं शहरले जन्माएको एक ऐठेन मात्र हो । लगभग म जस्तै । कुमार नगरकोटीकाे अद्धितीय प्रशशंक । तर उसलाई नगरकोटीको जीवनशैली कत्ति मन पर्दैन त्यहीं पनि मलाइ रुचाउँछ । त्यसैले बेलाबखतमा मलाई सम्झिरहन्छ । म जसको प्रतिक्षा गर्दै थिएँ, उसैको बारेमा सोच्दै रहेछु । अचेल के सोच्छु के गर्छु आफैलाई थाहा हुँदैन ।

एक्कासि पछाडिबाट वायुवेगमा आएको एक बज्र धापले मेरो तन्द्रा भङ्ग गरिदियो । फेरी झस्किएँ । लाग्यो आज झस्कनका लागि राम्रो मूहुर्त रहेछ ।

साले कता हराएको छस् आजकल ? देखभेट छैन । बोलचाल छैन । यस्तो नि हुन्छ है ? ऊ आफ्नै पारामा सुरु भो ।

त्यस्तो होईन यार । अचेल अलिक गोजी टाईट छ । हत्तपत्त घरबाहिर निस्कने आँट आउदैन । तँलाई त थाहा छदै छ, आफ्नो भन्ने कोही छैन…..स्याला काठमाडौंमा कसो गरेर यो जीन्दगी जाला । मैले गायक कपिल पौडेलको भाषा बोलेँ।

अरे तँ त लेख्ने मात्रै भन्या त गीत पनि गाउँदो रैछस् बे ! ऊ जिस्कियो ।
तँ पनि हसाउँछस् यारा । ठेट्ना शब्द कोर्दैमा हामी कहाँ लेखक हुनु यार । उसो त तँ पनि लेख्छस् नि । तँ चै आफूलाई लेखक भन्छस् ?

हुन त हो यारा । हाम्ले लेखेर पनि क्यार्नी हो र है ? भुँईफुट्टा राईटर भन्छन् । हाम्रा लेख पनि कोही छाप्न मान्दैनन् । चिन्या मुन्छे नभएपछि त मिडियाले समेत हेप्दा रछन्, अन्तको त के कुरा गर्नु ? अझ सरकारी क्षेत्रको सिसा त चिहाउने प्रयास पनि नगरेकै बेस ।
शिष्टता, नम्रता मान्छेका नाम मात्रै बनेर रहेका छन् । ह्या छाड यी कुराहरु । जति सोच्यो उति मन गुन्द्रुक हुन आउँछ । हामीजस्ता झोले लेखकको प्रतिभा उभार्न शहरमा कथा प्रतियोगिताकाे आयोजना हुँदै रहेछ त । तैले थाहा पाइस कि नाई ?

ए हो र ? सही कुरा सुनाईस् यार, तर यी दिनमा म थेसिस लेख्नमा व्यस्त छु । म त अरुजस्तो थेसिस किनेर बुझाउन्न हेर । त्यसो गर्दा आफैलाई घाटा हुने हो । हैन र ? बरु मसँग यौटा कथा छ । लेख्छस् भने भन् ।

म चुपचाप बसिँरहेँ । मेरो सन्नाटा उसलाई चित्त बुझेनछ क्यारे । फेरि थप्यो, कथा लेखेर पठाईहेर न के हुन्छ ! लेख्दैमा त के बिग्रन्छ र ? फेरि मैले भन्दा तैंले राम्रो लेख्छस् के रे यस्ता त ।
सुना न त सुना उसो भए । मनासिव लागे लेखौँला नि । त्यसमा के छ र ? कथा तेरो अक्षर मेरो । जिते भने पैसा आधा आधा । हा हा हा । मेरो ठट्टा भन्दा उसको हांसो जोरको निस्क्यो ।

हे… हे.. हिड् त उसो भए, होला अमिगो जाम् । गएको छैन भन्थिस् । आज म तँलाई त्यहाँको स्पेशल चिया ख्वाउँछु । उसले हाँसोमा ताल मिलाउँदै भन्यो ।

पीपलबोटबाट,थापागाँउ हुँदै अनामनगर पुग्दा मेरो ध्यान भत्किएको फुटपाथ ठोक्किए । कति साँघुरो फुटपाथ ? मान्छे हिँड्ने ठाँउमा भीड हुने ठाँउमा पाँच अंगुल पनि छैन । यस्तोमा सपाङ्ग त हिड्न सकिदैन, अपाङ्ग कसरी हिड्लान् ? कस्तो परियोजना होला ? कसले बनाएका होलान् ? हाम्रा मुख्य जिम्मेवारहरुले । के यस्ता अव्यवस्था हटाउने सामथ्र्य कोहीसँग छैन ? किन फाट्टफुट्ट प्रेमजोडी झुल्किने भद्रकाली—सिहंदरबार सडकमा त्यत्रो ठूलो फुटपाथ छ ? बाबुरामको डोजरले यताको बाटो चिन्या थिएन क्यार । नत्र त भत्काउँदो हो । उ बेलामा नै । एकछिन आफैसँग प्रश्न गर्दै साेंचमा फसेँ।

ओई किन लोलाएको छस् ? बोल्दै हिड् न । मेरो मनोवाद रोकिएकै थिएन । रमेशले फेरि झस्कायो । अब त प्रमाणित नै भयो कि आज झस्किने नै साइत रहेछ ।

हँ ! केही हैन । गम्दै छु ।
ह्याँ हाम्लाई हिड्नी बाटो छैन, उता मान्यवर ग्याँस पाईपलाईन बिछ्याउदै बेफुर्सदी छन् । साना समस्याले विकराल रुप लिएको थाहा पाउन त जेल होइन कलेज गएको मान्छे हुनुपर्दो रहेछ ….। बुझिस् के ?
भाक् मुला, हाम्ले एम. ए. गरेर के चैं उखेल्न सक्या छाैँ र ? नेपाल यस्तै हो । छाड्दे, जे चल्छ चल्न दे । हेलियाना म्या………न !
हा… हा…हा…। अमोरेस पेरोस

हेलियाना म्यान उसको थेगो हो । धुव्रचन्द्र गौतमको अलिखित उपन्यास पढेदेखि उसले जुन मनबाट दिग्दारीको लाभा निस्किन्थ्यो त उसको मुखबाट त्यो शब्द फुत्किन्थ्यो । जसको अर्थ उसले बनाएको थियो, ‘नर्क यहाँ छ साथी’ । जब विकृति विसंगति देख्थ्यो तब उ यहीं शब्द निकाल्थ्यो । यतिबेला ऊ पनि पक्कै सरकारी चालमाल र देश देखेर आजित भएको हुनुपर्छ । तब न हेलियाना म्यान भन्यो । दिग्दारीको आभा अनुहारमा पनि प्रस्ट देख्न सकिन्थ्यो । अमोरेस पेरोस पनि उसको मुखबाट खुब निस्किन्छ ।

केही बेर चुप लागेर उसको कुण्ठा झनै उम्लिएछ क्यारे । एक्कासि चिच्याउन थाल्यो । यी सरकारी मुख्य जिम्मेवारहरुको त के कुरा गर्नु र हौ ? जता जेमा पनि घोटाला मात्रै गर्या छन् ! मौरीले जस्तो दशतिर चुस्यो एकातिर लगेर थोपर्यो । आफ्नो पेट तातो बनायो बस् अरुको के मतलब ? देश त यहीं हो, जे हाम्रो छेउमा छ । यहाँ अरु केही छैन झन् न्याय निसाफ त शुशिला कार्कीको न्याय किताबभित्रै हराईसक्यो नि । हाम्रा टुक्के बा पनि झुक्काउनमा माहिर रैछन् । बित्थामा मेरो पनि एक भोट खेर गयो भन्या ! खान दे मुलाहरुलाई जति खान्छन्, म त वाक्क दिक्क, भैसकेँ। मलाई केही मत्लब छैन अब त । आफ्नो जीवन मस्त बिताउने हो बस् । तर घरभाडा तिरेर खान लाउन पुग्ने जागिर पाउनै मुस्किल छ । धन्न बाउले गाउँमा दूध बेच्छन् र मैले यहाँ चिया खाने हिम्मत जुटाउँछु । साला काठमाडौंमा हाहाहा हेलियाना म्यान हेलियाना । उसले मेरो मजाकको शैली पछ्यायो ।

यो खाल्डोको अस्तव्यस्त जीवन, सित्तैको धुल श्रीङ्गार र महङ्गीको बफादारीले मलाई मात्र खेदेको हो कि जस्तो लाग्थ्यो । होइन रहेछ । ऊ पनि हाम्रा मुख्य जिम्मेवारको व्यवहारबाट उत्तिकै पिल्सिएको रहेछ । उसकोे क्रोधाग्निले मलाई थोरै बहुत शितलता प्रदान गर्यो । म केही बोलिन । आफ्ना झिक्रा बार हालेका जस्ता दाँत देखाउँदै उसको पछिपछि लम्किरहेँ ।

अनामनगर आइपुगेपछि होला अमिगो चियापसल आइहाल्यो । राता रंगका ठूला अक्षर देखाउँदै उसले भन्यो, लु हेर केटा ! यहीं हो सर्वन दाईको होला अमिगो चियापसल । म त यहाँ आईरहन्छु नि । हिँड् माथि जाम् । म फेरि केही नबोली चुपाचाप उसको पछिपछि डोरिएँ ।

गएर सोफामा केहीबेर बस्यौं । सेतो कालो टिसर्ट पाईन्ट लागाएको वेटरले दुई स्पेशल चियाको अर्डर लिएर गयो ।

काठमाडौं आएदेखि एक रुपैँया पठाउन सकेको छैन । कति सरापेका होलान् ? घरकाले मलाई ! गफको फेरो कोट्याउँदै मैले आफ्नो वह पोख्न सुरु गरेँ ।

पैसा त मैले पनि कहाँ कमाएको छु र ? पैसा भन्ने चिज यस्तै हो । छोड् दुःखका कुरा । यता कथा सुन् अब । पुरस्कार जित्यौँ भने पठाम्ला ।
खडेरीमा जंगल चहार्दा कुवा भेटिएजस्तै शितल लागे मलाई उसका ति मजाकी वाक्यहरु । उसले भनेजस्तै बकुल्ला ध्यानले कथा सुन्न मैले आफ्नो मोबाईल स्वीच अफ गरेर राख्दिएँ । अब फोन बजेर म झस्किरहन पनि नपर्ने र एकाग्रता पनि नहट्ने भो । मलाई डबल फाईदा ।
रमेशले कथाकाे सारांश बताउन थाल्यो ।

एकदिन सिभिल हस्पिटलको भित्रको चौरमा अचम्मको घटना घट्यो । मलाइ त्यो घटनाले मलाइ निकै बेर गम खुवायो । खासमा त्यहाँ कुनै चौर थिएन । त्यहाँ त एउटा सुन्दर फूलबारी थियो । त्यो फूलबारी यति सुन्दर थियो कि मानौँ पुराणमा वर्णन गरिएको स्वर्गको टुक्रा खसेको जस्तो । अति नै मनमोहक । त्यो फूलबारीको जति नजिक गयो, त्यति नै आकर्षित गर्ने । मानौँ त्यहाँ कालो जादु छ । फूलबारीको मातले मलाइ अन्धो बनाइदियो ।

म झन् झन् अगाडि बढेँ । अलि भित्र गइसकेपछि त्यहाँ एउटा कुण्ड थियो । मानौँ उक्त कुण्ड कुनै अमृतले बनेको हो । त्यहाँ दुईटा जीव चलिररहेको देखेँ । ती जीवहरु शारीरिक क्रिडामा व्यस्त थिए । अरुको संभोगलाई यसरी हेर्नु राम्रो होइन तर मेरो मनले फिटिक्कै मानेन । ती जीवहरु कता कता चिनेजस्तो लाग्यो । अनि ठ्याक्क विपी कोइरालाको सुम्निमा याद आयो । अहो । सोमदत्त पण्डित र सुम्निमा पो ? अनि विपी कोइरालाले वर्णन गरेजस्तो शरीर पनि । मलाइ मैले आज देखेको दृश्य अद्भूत थियो । मैले उनीहरुको लीली हेदैथिएँ ।
एक्कासि त्यहाँबाट कुण्डसहित फूलबारी गायब भयो । खाली चौर मात्र छ । ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित उपन्यासमा दोरहन्तल ताल हराएजस्तो यहाँ पनि फूलबारी अनि कुण्ड हरायो । अलिखितमा दोरहन्तल तालले पुरै गाउँ निलेको थियो तर यहाँ मलाइ भने कुण्डले निलेको थिएन । म जीवित नै थिएँ ।

एक्कासि आफूलाई स्वर्गको टुक्रा कुण्डबाट बिझाउने चौरमा थेचारिंदा मलाइ असह्य पीडा भएको थियो । यता उता हेरेँ । एकजना दाजुलाई सोधेँ, ए दाजु यहाँको कुण्ड खोइ ?

उसले शिरदेखि पाउसम्म हेर्यो अनि भन्यो, ह्वाट अ सेन्टिमेन्टल फ्लावर ।

मलाइ उक्त वाक्य कता कता सुनेजस्ताे भयो । अँ साँच्चै त्यो त अंगुरमानको थियो । हरे कस्तो होस नभएको । कुण्डको मात मलाइ अझै पनि लागिरहेको थियो । आज सिभिल अस्पतालको चौरमा देखिएका दृश्यहरु के यथार्थ हुन् त ? के पात्रहरु जीवित छन् ? कि मैले दिवास्वप्न देखेको हुँ ?

मलाई नयाँ पत्रिकाको कभर पृष्ठमा छापिएको निर्मलाका निम्ति न्याय तस्विरले नराम्रोसँग गालेको थियो । रमेशले मलाई पात्रहरुको कथा सुनाउँदा मेरो ध्यान भने पश्चिम कन्चनपुर पुग्यो । उस्ले सुनाउँदै गयो । म कानले सुनिदिएँ तर दिमागले कथाको तस्विर खिच्न मानेन ।

मलाई नयाँ पत्रिकाको कभर पृष्ठमा छापिएको निर्मलाका निम्ति न्याय तस्विरले नराम्रोसँग गालेको थियो । रमेशले मलाई पात्रहरुको कथा सुनाउँदा मेरो ध्यान भने पश्चिम कन्चनपुर पुग्यो । उस्ले सुनाउँदै गयो । म कानले सुनिदिएँ तर दिमागले कथाको तस्विर खिच्न मानेन ।

हाम्रो औपचारिकता दुई घण्टासम्म चलिरह्यो । तीन घण्टामा हामीले सात–सात कप स्पेशल चिया खाइसकेका थियौँ ।

बिलमा छ सय अंकले आफ्नो स्थान दावा गरेछ । मेरो प्वाल परेको खल्तीमा पैसा अडिने कुरै भएन । म दिन्छु नि ! भन्नेसम्म पनि हिम्मत गर्न सकिन ।

होला अमिगोबाट तल झर्यौ ।
ल यारा छुट्टिम् त आजलाई उसले हात मिलाउँदै भन्यो । फेरि भेटम्ला है त । सम्पर्कमा बस्दै गरेस् । म पनि सँगै जान्छु नि । मनले भन्यो तर मुखले उच्चारण गरेन ।
हुन्छको संकेतमा मुन्टो मात्र हल्लाएँ ।

विदाई उपहारको रुपमा दुवै खिसिक्क हाँस्यौ । अँ प्रतियोगिता जितेस् तँलाई शुभकामना पनि छ है । यत्ति शब्दहरु निकाली ऊफटाफट बाटोको किनार किनार लाग्यो । म ठिङ्ग उभिएर उसको चाल नियालिरहेँ ।

दिउँसोको घामले आफ्नो आभा सकिएको संकेत गर्न थालिसक्या थियो । होला अमिगो बाहिरको सडकमा धुलो तैरिरहेका थिए । आफ्नै परम्परागत लयमा । खल्तीमा २० रुपैयाँ बाँकी छ । माक्स किनेर लाउनु कि भरे बेलुकाको चुरोटको जोहो गर्नु ? आ होस् चुरोटको धुँवा पचाउने फोक्सोले धूलो पनि पचाउन सक्छ । माक्स साक्स लाइदैन । भोलिको दिन भोलि हेरौँला ! हु नोज अबाउट फ्युचर ? ब्लोडी फ्युचर ।

यता फेरि मैना नाघेको पाँच दिन कटिसक्याे । डेरामा छिर्नु पूर्व मैले घरभाडा घरबेटीको हातमा थमाउन सक्नुपर्छ । ओछ्यानमा सुतेर रात काट्नका लागि फेरि मेरो फोन बज्नु आवश्यक थियो । अनि कसैले भन्नु जरुरी हुन्थ्यो, ओई कता छस् ? आईज आज मेरोमा बस्न ।

के गर्ने कता जाने अन्योलमा थिएँ । अकस्मात् फोन बज्यो । आमाको रहेछ । अघि फोन बजेर झस्किएँ अहिले फोन गर्ने मान्छे चिनेर । पक्कै पैसा नपठाएकोले फोन गरिन् होला भन्ने लाग्यो । फोन बज्नुको खुसी खोसियो । मन गह्रौँ पार्दै उठाएँ ।
हेल्……लो । आवाज नचिनिने मसिनो स्वर बनाएर भनेँ।

गरिबीले प्रेमको भाषा बोल्न जान्दैन । आमाले सोझै सोधिन्, बाबु पैसा कहिले पठाउछस् ? दिनभरी झस्किएको म आमाको प्रश्नले झस्कनु नौलो भएन । फेरि आजका लागि अन्तिम पटक झस्किएँ ।
आमालाई दिन मसँग कुनै जवाफ थिएन । मेरो गोजी र हिम्मत दुवै रित्ता थिए । जवाफ फर्काएँ सरी…… रङ नम्बर !

एउटा लामो सास लिएसँगै फोन काटिदिएँ । कल काटिएर मोबाइल कर्कश आवाजमा दुई पटक करायो । एकाएक सडकका गाडीको आवाज पनि उत्तिकै कर्कश सुनिन लाग्न थाले ।

कास् आमाको फोन जस्तै रङ नम्बर भनेर यो जीन्दगी स्वीच अफ गर्न मिल्दो हो त ?

प्रतिक्रिया दिनुहोस्