Logo

विजय दौडमा काठमाडौँ रावत प्रथम, बेलायती र जापानी नागरिक सहभागी



Spread the love

१२ माघ, काठमाडाैँ – पर्यटन वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालित विजय दौड प्रतियोगितामा काठमाडौँका नरेन्द्रसिंह रावत प्रथम भएका छन् । रावतले एक घण्टा १६ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी २१ किलोमिटर खुला दौडमा प्रथम भएका हुन् । उनले ५० हजार रुपैयाँ प्राप्त गर्न सफल गरेका छन् ।

रुकुमका दुर्गाराज बुढाले एक घण्टा १८ मिनेट २० सेकेण्डमा दूरी पार गरी दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उनले नगद रु ३० हजार प्राप्त गर्न सफल भए । पाल्पाकै सुवास कार्कीले एक घण्टा १८ मिनेट ३५ सेकेण्डमा दूरी पार गरी २० हजार र सान्त्वना हुन सफल शिवबहादुर रायमाझीले एक घण्टा १८ मिनेट ४२ सेकेण्डमा दूरी पार गर्दै रु पाँच हजार प्राप्त गरेका छन् । २१ किलोमिटर दौडने तानसेन बजार हुँदै भैरवस्थान मन्दिर परिक्रमा गरी तानसेन नै आएका थिए ।

कक्षा १२ सम्मका छात्रको पाँच किमी दौडमा भक्तपुरका सागर श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले रु २० हजार प्राप्त गरेका छन् । त्यसैगरी काठमाडौँका युनिस सारु मगरले रु १० हजार, काठमाडाैँका प्रवीण बोहोराले तेस्रो भई रु पाँच हजार, महोत्तरीका नारायणकुमार कुसवाहाले सान्त्वना भई रु दुई हजार प्राप्त गरेका छन् । त्यस्तै छात्रातर्फको पाँच किलोमिटर दौडमा हुगी बुढामगर प्रथम भएका छन् । त्यस्तै खिमा शेरचन दोस्रो, सञ्जु गाहा तेस्रो र सपना सारु सान्त्वना भएका छन् ।

जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनिले विजय दौडले जिल्लाको पर्यटन क्षेत्रको विकासमा सहयोग हुने बताए । जिल्लास्तरका प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने हुँदा खेलकूद प्रतियोगिताको आकर्षण बढाउनुपर्ने उनले बताए । गोरखदल गणका गणपति सुरज थापाले विजय दौड सञ्चालनले पर्यटकीय नगरी पाल्पामा पर्यटकको चहलपहल ल्याउन सफल हुने बताए ।

बेलायती जापानी नागरिक सहभागी

एक्काइस किलोमिटर दौड पूरा गर्ने दुई महिला जमुना हिताङ र सुनिता न्यौपाने तथा बेलायती नागरिक डेनियल जेम र जापानी नागरिक ताईसुके अकोरालाई समेत गणले विशेष सम्मान गरेको छ । विजय दौड पाल्पाकै अवसरमा पर्यटन वर्षलाई प्रवद्र्धनका लागि वाकाथुन दौडसमेत भएको छ ।

वाकाथुममा प्रदेश सांसदहरु नारायण आचार्य, पुरनमान बज्राचार्य, वीरबहादुर राना, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार साही, रम्भा गाउँपालिकाका प्रमुख विष्णु भण्डारी, रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायणबहादुर जिसी, पूर्वखोला गाउँपालिकाका प्रमुख नुनबहादुर थापा, निस्दी गाउँपालिकाका प्रमुख मुक्तबहादुर सारु, बगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बस्याललगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्