Logo

हाम्रो यस्ता खराब आनीबानी जसबाट अरुले भोग्छन् सास्ती !



Spread the love

तपाईं चुरोट तान्नुहुन्छ, तपाईंले त चुरोटको सर्कोबाट स्वाद लिनुभयो । तर, तपाईंको कारण कुनै बालक, गर्भवती महिलाको फोक्सोमा जसरी दुषित वायु पुग्दैछ, त्यसको जिम्मेवारी के तपाई स्वयम् लिनुहुन्छ ? तपाईं चर्को आवाजमा फोनमा कसैसँग कुरा गर्दै हिँड्नुहुन्छ । त्यसले अरुलाई बाधा पुग्नसक्छ । तपाईंको भलाकुसारी अरुको लागि झर्कोलाग्दो पनि हुनसक्छ । के तपाईंले त्यसको क्षतिपूर्ति दिनुहुन्छ ? तपाईं गाडी/मोटरसाइकलमा जथाभावी हर्न बजाउनुहुन्छ । तपाईंले बजाउने हर्नले अरुको श्रवण क्षमतामा असर पर्छ । के उनीहरुको स्वास्थ्यमा पर्ने असरको जिम्मेवारी लिनुहुन्छ ?

भलै यी साना कुरा हुन् । तर, हाम्रा यी बानी-व्यवहारको कारण अर्को व्यक्तिले सजाय भोगिरहेका हुन्छन् । बिना कसुर उनीहरु सास्ती भोग्न बाध्य भइरहेका हुन्छन् । अतः कानुनी व्यवस्थाले यी कुरालाई नियन्त्रण गर्न सक्दैन । यसका लागि तपाईं/हामी नै सचेत र सर्तक हुनुपर्छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त के भने आफ्नो कारणले अरुलाई कुनै असर हुन्छ, क्षति हुन्छ, समस्या हुन्छ भने त्यसलाई अरुले नियन्त्रण गर्ने होइन ।

किनकि हाम्रो समाजले हामीबाट मानविय व्यवहार खोज्छ । आफ्नो कारणले अरुलाई कुनै असर हुन्छ, दुःख हुन्छ, कष्ट हुन्छ भने त्यो कुरा हामी आफैले अनुभूत गर्ने हो । अतः आफुबाट त्यस्तो व्यवहार नगर्ने हो । अतः यसका लागि हामीले घर-परिवारमा नै राम्रो संस्कारको विकास गर्नुपर्छ । संस्कार कुनै भाषणले सिकाउँदैन । यो कुरा त हामीले आफ्नो घर-परिवारबाट अभ्यास र विकास गर्दै आउने कुरा हो ।

प्रतिक्रिया दिनुहोस्