Logo

माता सरस्वतीको पुजा-आराधना यसरी गरौँ !



Spread the love

श्री पञ्चमीको दिन अर्थात् माता सरस्वतीको जन्मोत्सवको दिन । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने जन विश्वास रही आएको छ । सृष्टिको निर्माणको समयमा देवी सरस्वती वसन्त पञ्चमीको दिन प्रकट भएकी थिइन् भन्ने मान्यता रहेको छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
माता सरस्वतीको पुजा गर्ने विधि
वसन्त पञ्चमीमा सरस्वतीको पूजा गर्नका लागि सर्वप्रथम माता सरस्वतीको प्रतिमा अगाडि राख्नु पर्छ । त्यसपछि कलश स्थापित गरेर भगवान गणेश र नवग्रहको विधिवत पूजा गर्नु पर्छ । माता सरस्वतीको पूजा गर्दा सर्वप्रथम आचमन एवं स्नान गराउनु पर्छ । त्यसपछि मातालाई केसर, फूल र माला चढाउनु पर्छ । सरस्वती मातालाई सिन्दुर एवं अन्य श्रृंगारको वस्तुहरु पनि अर्पित गर्नु पर्छ ।

वसन्त पन्चमीका दिन सरस्वती माताको चरणमा रंग पनि अर्पित गरिन्छ । देवी सरस्वती श्वेत वस्त्र धारण गर्छिन् । सरस्वती पूजाको अवसरमा माता सरस्वतीलाई पहेलो रंगको फलफुल चढाउनु पर्छ । सरस्वती माताको नामले ॐ श्री सरस्वतयै नमस् स्वाहा मन्त्रले १०८ पटक हवन गर्नु पर्छ । यसरी माता सरस्वतीको पूजा-आरधना गर्नाले भक्तहरुलाई उनको आशीर्वाद प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्