Logo

सामाजिक सुरक्षा भत्ता सीधै स्थानीय तहमा



Spread the love

काठमाडौँ, भदौ २८ गते । सरकारले चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ ।

यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भए पनि यस आवबाट सीधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार
ठाकुरले बताउनुभयो ।
उहाँले स्थानीय तह नै स्थानीय सरकार भएकाले ती निकायमा सीधै सुरक्षा भत्ताको रकम पठाइने जानकारी दिनुभयो । विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनासाथ रकम पठाउने तयारी गरेको छ । अहिले सो भत्ता पाउनेको विवरण स्थानीय तहमा सङ्कलन भइरहेको छ ।
यस आवमा सामाजिक सुरक्षा भत्ताका लागि करिब ३६ अर्ब रुपियाँ विनियोजन भइसकेको छ । गत आवमा २२ लाख ५५ हजार व्यक्तिलाई करिब ३५ अर्ब ४६ करोड रुपियाँ वितरण गरिएको महानिर्देशक ठाकुरले बताउनुभयो ।
विभागले बर्सेनि तीन÷तीन महिनामा ज्येष्ठ नागरिक, विधवा, अपाङ्ग, दलित, लोपोन्मुख र अति गरिबीको सूचकाङ्कमा परेका जिल्लाका बालबालिकालाई सो भत्ता वितरण गर्दै आएको छ ।
उक्त भत्ता पाउनेको नाममा दोहोरोपना आउन नदिन र भत्ता वितरणमा पारदर्शिता अपनाउन विभागले भत्ता पाउनेको नामावली अनलाइनमा राख्ने गरेकामा अहिलेसम्म १७ लाख ५० हजार व्यक्तिको नाम अनलाइनमा राखिएको महानिर्देशक ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्