Logo

स्कुलको वार्षिक उत्सवमा शिक्षा मन्त्रीले भने “अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुदैन”



Spread the love

१९ माघ, काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएका छन् । विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए ।

“अङ्ग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ” उनले भने, “अङ्ग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ ।”

मन्त्री पोखरेलले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउन सक्दैन भने । उनले नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने औँल्याउँदै राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको बताए ।

“पहिले÷पहिले शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिन्थ्यो” उन्ले भने, “प्रविधिको विकाससँगै अहिलेका विद्यार्थीले इन्टरनेटको प्रयोगले आफैँ पनि धेरै सिक्न थालेका छन् ।” उनले शिक्षालाई उत्पादनशील, सभ्य र सुसंस्कृत बनाउन विद्यालयलाई सबल बनाउनुपर्ने बताए । सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारकोे आवश्यकता रहेकामा उनले जोड दिए ।

मन्त्री पोखरेलले काठमाडौँ उपत्यकामा दश प्रतिशत सामुदायिक र ९० प्रतिशत निजी विद्यालय रहेको जानकारी दिँदै सामुदायिक विद्यालयले निजी विद्यालयलाई पछि पार्नुपर्ने बताए ।

“अधिकांश सामुदायिक विद्यालय भौतिकरुपमा सबल छन्” उनले भने “तर शैक्षिक गुणस्तर वृद्धि गर्न सकिरहेका छैनन् ।” उनले गणित र विज्ञानको नजिता सन्तोषजनक आउन नसकेको बताउँदै सरकारले विज्ञान विषय सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न लागेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्व निकेतनमा अध्ययन गरेका विद्यार्थी राष्ट्रियस्तरमा प्रतिष्ठित बन्न पुगेको बताए । उनले कम्प्युटरलाई अतिरिक्त विषयका रुपमा अध्ययन गराउनेमा यस विद्यालय नेपालकै पहिलो भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्