Logo

नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन!



Spread the love

२९ भदौ, काठमाडौं। डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ। १ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो । त्यो प्रवचन क्रिप्टोकरेन्सी ‘वानक्वाइन’बारे थियो । त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालिम दिएका थिए ।

वानक्वाइनमा नेपालका तर्फबाट ठगको नेतृत्व गर्नेमा गोविन्द श्रेष्ठ रहेको त्यही भिडियो हेर्दा प्रस्ट हुन्छ। उनका मुख्य सहयोगीमा हीरा भण्डारी, चुडाबहादुर थापा, पंकज बजगाईं, इन्द्रबहादुर कार्की, राज श्रेष्ठ भरत श्रेष्ठ, अशोक श्रेष्ठ र फिरोज बजगाईंलगायत छन् । उनीहरूसहित अन्य ५० जनालाई डा. जाफरले नेटवर्किङको तालिम दिएका थिए।

नेपालमा हजारौँले वानक्वाइन खरिद गरिसकेको ती लिडर र लगानीकर्ताको भनाइबाट पुष्टि हुन्छ । वानक्वाइनको वेबसाइटका अनुसार यसको मुख्य कार्यालय बुल्गेरियामा छ।

त्यस्तै दुबईलाई केन्द्र बनाएर यसको कारोबार हुने गरेको छ। दुबईमा बस्ने देव भट्टराईले यसको मार्केटिङ गरिरहेका छन् । अन्य खाडी मुलुकमा समेत यसको कारोबार भइरहेकाले त्यहाँ रोजगारीमा रहेका नेपालीहरू यसबाट ठगिएका हुनसक्ने अनुमान छ । वानक्वाइनलाई बेलायतमा पंकज बजगाईंले नेपाली समुदायमा नेतृत्व गरेका छन् ।
ठगहरूले काठमाडौंलगायत प्रमुख सहरका तारेहोटेललाई अड्डा बनाएर ठगीधन्दा सञ्चालन गरिरहेका हुन् । काठमाडौं र विभिन्न सहरका तारेहोटेलमा विभिन्न विदेशी मोटिभेटरलाई ल्याएर नेटवर्क व्यवसायमा लाग्नका लागि उत्प्रेरित गराइरहेका छन् । यसअघि पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा प्रहरीले नेटवर्कको भाषण दिइरहेका वेला ५० जनालाई पक्रिएपछि सानातिना होटेलमा ठगको गिरोह बस्न छाडेका छन् । ती क्वाइनका लिडरहरूले ठूलो रकम खर्च गरेर तारेहोटेलमा सेमिनार गर्ने गरेका छन् । तारेहोटेलमा प्रहरीले छापा नमार्ने तथा अन्य स्थानभन्दा धेरै सुरक्षित रहने भएका कारण धेरै रकम खर्च गरेर पनि तारेहोटेल रोज्ने गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्