Logo

हरि न्यौपानेका दुई कविता



Spread the love

भजन मण्डलीको एक पात्र

आत्मा छैन उसको
छ विवेक पुरै शुन्य
मालिकको बाणी बोल्दैमा
सर्वज्ञानी उ नै हुने
कुर्छ इशारा नाच्न
घमण्ड छ सजिवै हुँ भन्ने
खाली छ खोपडी उस्को
तर अरुलाई गन्दै नगन्ने ।

के गलत के छ सही
पाउँदैन अर्थका भेउ
अरुका दुखका आँसुले
पोल्दैन छातीको छेउ
इमान्दारी र देशभक्तिका
बुझ्दैन ऊ कुनै भाउ
न पिरोलिन्छ रैतिका दुःखमा
न बल्झिन्छ उसको घाउ ।

निहुरिन्छ मालिकका सामु
गर्दै नुनको सोझो
रवाफले छोइदिन्छ आकाश
तर विवेकले पुरै होचो
सुर्किन्छ पाखुरा बेकारमा
सधै सन्किने मात्र गर्छ
बोधो छ बुद्धिमा पक्का
सधैं कुण्ठाले मन भर्छ ।

सिम्पल छ फर्मुला उसको
मात्र मालिकको कृतन गर्ने
आदेश के आउला भन्दै
बहुतै चनाखो भइ कुर्ने
लगाउने न्वारन देखिको बल
गर्न झुटको खेती
“सबै अच्छा भो” भन्छ
चाहे वाइड वडि होस वा यति ।

तर पनि उफ्रन्छ उ सधैं
सबै बुझेछु झैं गरी
मच्चिन्छ दासताका डोरीमा
पुरै स्वतन्त्र भए सरी
कमाराले उडेको कथा
नसुनाओस् हामिलाई भो
जीवितै देखिने त्यो
आत्माबिहीन कठपुतली हो ।

सरकारको नियत

सिन्डिकेट हटाउने घोषणा गर्छ सरकार
र उसको नियत
ओभरलोडले पल्टिएको गाडीले देखाउँछ ।सुशासन ल्याएको जिकिर गर्छ सरकार
र उसको नियत
पदै पिच्छे आफ्ना भरौटेको नियुक्तिले देखाउँछ ।

तीब्र विकासको सपना देखाउँछ सरकार
र उसको नियत
बर्षौदेखि अल्झिरहेको मेलम्चीले देखाउँछ ।

समृद्ध नेपालको गीत गाउँछ सरकार
र उसको नियत
दानको कम्बलमा निस्कने मुस्कानले देखाउँछ ।

दिगो विकासको धुन गुनगुनाउँछ सरकार
र उसको नियत
गाई धपाउन ल्याइने ऋणले देखाउँछ ।

मातृभूमिको आगाध प्रेमको झ्याली पिट्छ सरकार
र उसको नियत
सधै खुम्चिरहने देशको सिमानाले देखाउँछ ।

स्वदेशमै रोजगारीको सपना देखाउँछ सरकार
र उसको नियत
दिनहुँ भित्रिने लास बोकेका बाकसले देखाउँछ ।

लुटतन्त्र अन्त्यको घोषणा गर्छ सरकार
र उसको नियत
माफिया दलाललाई दिएको अल्टिमेटमले देखाउँछ ।

भ्रष्टाचार नियन्त्रणको फुईँ झार्छ सरकार
र उसको नियत
पद नियुक्तिमा हुने मोलमोलाइले देखाउँछ ।

दुई तिहाईको दम्भ देखाउँछ सरकार
र उसको नियत
खाल्टो पुर्न पटक–पटक दिने निर्देशनले देखाउँछ

भ्रष्टहरुलाई नछाड्ने भाषण घन्काउँछ सरकार
र उसको नियत
ललिता प्रकरणमा आफ्नालाई च्यापेकाले देखाउँछ

प्रतिक्रिया दिनुहोस्