Logo

सीताहरु– २३




–परशु प्रधान

केही वर्ष भयो–मैले सीताहरुको खोजी गरेको । यसका लागि म कहाँ पुगिनँ–होटेल, रेस्टुराँ, डान्सबार र ससाना भट्टीहरुसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवा ताल वरपर पनि घुमेकै छु । ठमेल, बानेश्वर र कलंकी त नजिककै तीर्थस्थल भए मेरा लािग । चिने–नचिनेका र सीताहरु पढेका पाठकहरु मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्– “होइन, यस्ता असाधारण चरित्रका सीताहरु तपाईं कहाँ पाउनुहुन्छ ?”


म ठट्टा गर्छु– हाम्रो शहरबजारका गल्ली गल्लीमा म सीताहरु भेट्छु । गाउँघरमा पनि धेरै सीताहरु सपनाहरुसँग उमेर साटिरहेका पाएको छु । थुप्रै म्यान पावर कम्पनी, एजेनट, दिउँसो चल्ने लजहरुमा पनि म त सीतै सीता देख्छु ।


हामी त गीता, रीता, शर्मिला, निर्मला, अन्जु, मन्जुहरु मात्र देख्छौँ, भेट्छौँ । तपाईं राम भएर होला– जहाँतहाँ सीताहरु मात्र देख्नुहुन्छ । हिजो साँझ मात्र एक जना साथीले यसो भने ।


केही दिन भयो, सपनामा समेत सीताहरु मात्र देख्छु । मनभरि सीता… सीता भएर होला । एक रात सपनामा एउटी महिला देखा परी । उसको अनुहार धेरै थाकेको र निराश थियो । पीडायुक्त स्वरमा उसले आफ्नो परिचय दिई– मेरो नाम सीता भण्डारी हो – घर झापा पर्छ । धेरै दिनदेखि यहाँसँग भेटेर पीडाको कथा सुनाउनु थियो ।


कुनै घना जंगलको डाँडोमा म बसेको रहेछु । टाढा टाढासम्म गहिरो अँध्यारो थियो । मुनि कतै खोला सुसाएको आवाजभित्र मैले भनेछु– म स्वयम् असहाय छु । ममा कुनै शक्ति र जाँगर छैन । म यहाँलाई के सहयोग गर्न सक्छु होला र ?


“होइन, तपाई प्रहरी निरीक्षक होइन ? यो जिल्लाको शान्तिसुरक्षा, दुःख र पीडा तपाईले हेर्नुपर्ने होइन ? सुन्नुहोस्– तीन वर्षदेखि मेरा श्रीमान् बेपत्ता छन् । कहाँ केकस्तो हालतमा अवस्थामा छन्, मलाइ थाहा छैन । एक राति केही चिम्से केटाहरु आए र उहाँसँग हाम्रो काम छ भनी लिएर गए । त्यो साँझ पल्लो घरमा खसी काटेकाले मासु र भात पकाएकी थिएँ । ”
मैले नम्र भावमा भनेँ, उहाँसँग के कस्तो काम होला ? म पनि सुनुँ । फेरि खाना तयार छ– ख्वाएर लानुहोस् न, हुन्न ?”
ती मान्छे साक्षात् दैत्य थिए । “हामीलाई तुरुन्त ल्याउने अर्डर छ”– यत्ति भनेर तिनले उहाँलाई लछारपछार गरी लगे । म र केटाकेटी रातभरि रोएर काट्यौँ ।


भोलि पल्ट बिहान गाउँघर, छरछिमेकमा खोजखबर गरेँ । कसैलाई केही अत्तोपत्तो थिएन । सबैलाई जंगलीले लगेको शंका भयो । दिउँसो उहाँले काम गर्ने कपडा, कारखानामा गई खोजखबर गरेँ । अहँ, कसैले केही भन्न सकेनन् ।

आज, भोलि भन्दाभन्दै समय पानीको छालजस्तो बगिरह्यो । पत्रपत्रिकामा दियौँ– धेरै एनजीओहरु गुहार्यौँ । यी सबको केही अर्थ भएन । हेर्नोस् न– खाना खाने बेला भयो, उहाँको अनुहार अगाडि आउँछ । भातको गाँस घाँटीबाट भित्र जाँदैन । छोराछोरी सोध्छन्– आमा बा कहिले आउनुहुन्छ भनेर । म तिनलाई के जवाफ दिउँ ? रात रातभर निद्रा पर्दैन । उहाँको अनुहार आएर सोधिरहन्छ– तिमीहरुलाई कस्तो छ ? छोराछोरी राम्रै पढिरहेका छन् कि छैनन् ? तिनलाई जसरी भए पनि पढाउनु । हेर्नुस् न– बाह्र तेह्र वर्षको छोरो लागु पदार्थ खाने भइ सकेको रहेछ । आफ्नो बाबु अचानक बेपत्ता हुनुको पीडाले उ कुलतमा फंसेको हो– मेरो केही लागेन । अनि छोरीले पनि पढाइ मात्र छाडिन, घर पनि छाडी । शहरको कुनै रेस्टुराँमा काम गर्छु भन्छे; महिना– पन्ध्र दिनमा एकछिनलाई आउँछे । म सोध्छु– नानी ! तँ के काम गर्छेस् हँ ? उ केही जवाफ दिन्न । एउटा झिल्के पर्सबाट दोटा हात्ती मलाई दिएर भन्छे– आमा ! म हात्तीहरुलाई आफ्नो पर्समा राख्ने काम गर्छु ।”
‘तैंले पढ्न पर्ने, तँलाइ नर्स बनाउने बाको सपना थियो छोरी ।’ म रुन्छु । मेरो रुवाइको के अर्थ बुझ्छे उ कुन्नि । अरु दुइटा हात्ती फ्याँकेर उ घरबाट निस्कन्छे । हावामा उसका स्वरहरु प्रतिध्वनित हुन्छन्– ‘मलाई स्वतन्त्रतापूर्वक बाँच्न दिनोस् । यो समाजमा के–कसरी बाँच्नुपर्छ मैले थाहा पाइसकेकी छु ।’


इन्स्पेक्टर साहेब ! तपाईंका पनि परिवार होलान् । श्रीमती र छोराछोरी होलान् । भन्नोस् त, म कसरी बाँच्दै आइ रहेकी छु– न श्रीमान्को केही पत्तो छ, न छोराछोरीको । यसरी बाँच्नुभन्दा मर्नु निको भनेर एक रात म घरबाट निस्केँ । अलि परको पोखरीमा छ्वामलाङ्ग हामफालुँ भनेर डिलमा पुगेँ । पोखरीका प्रत्येक लहरले मलाइ बोलाइ रहेजस्तो लाग्यो । मैले भगवानको नाम लिएँ । श्रीमान र छोराछोरीको नाम लिएँ र दुबै आँखा चिम्लिएँ र आफूलाई सम्पूर्ण रुपमा बिर्सिने प्रयास गरेँ । अचानक टाढा कतैबाट एउटा पुरुष स्वर आइरहे जस्तो लाग्यो– ‘सीता ! तँ भयङकर अपराध गर्दै छेस् । तेरो सात जुनी नरकमा पर्ला । कुनै दिन म घरमा आउँदा म कसलाई सीता भनुँ ? कससँग बाँकी जिन्दगी काटौँ ?’ यस्तै एउटी युवा नारीको स्वरले मलाइ आकाशबाट यस धरतीमा ल्याइ दियो– ‘आमा ! यो के गर्दै हुनुहुन्छ ? मलाई तपाईले ज्वाइँ खोजिदिनु पर्दैन । तपाई त्यति कायर र डरछेरुवा बन्नुहुन्छ ।’


सरासर घरमा फर्केँ । उहाँको फोटो हेरेँ– मुस्कुराइ रहेको । भित्तामा रहेको बिहेको फोटोले जिस्काइ रहे झैं लाग्यो । कहिल्यै कुनै भाषणभीषण, जुलुस, सभा र गोष्ठीहरुमा नजाने म सीता । केही वर्षयता त्यस्ता सबै भेलाहरुमा जाने र भाग लिने गरेकी छु । ती सब ठाउँहरुमा जानुको मेरो एउटै उद्धेश्य हुन्थ्यो– उहाँलाई खोज्नु, भेट्नु र डाँको छोडेर रुनु । जसलाई पनि म सोध्थेँ–‘मेरा श्रीमानलाई देख्नुभयो ? उहाँको नाम राम भण्डारी हो । उहाँ गहुँगोरो अग्लो हुनुहुन्छ । मान्छे अधबैंसे र जिउडाल न मोटो, न पातलो छ ।’ कतिले देखेनौँ वा हामीलाई थाहा भएन भन्थे । तर कति जना यो बौलाही रहिछे भनेर हाँस्थे । यस्तै कोही राम्रो जिउडालको मान्छे देख्यो कि म उसको पछि पछि लाग्थेँ । जब कुनै टुङ्गोमा उसँग भेट हुन्थ्यो– तब म लज्जित हुन्थेँ । यस्ता घटना–दुर्घटनाहरु कति छन् कति !


नेताहरुका ठुलठुला भाषण सुन्थेँ । देशमा प्रजातन्त्र, लोकतन्त्र ल्याउने कुरा गर्थे । कोही गणतन्त्रको नारा दिन्थे । म अदना नारीलाई के थाहा, कुन तन्त्र हो कि मन्त्र हो ! जुनसुकै तन्त्र आओस् मलाइ के मतलब । मलाई त मेरो श्रीमान ल्याइ दिए पुग्छ । कहिलेकाहीँ लाग्छ– उहाँलाई रगतपुच्छे पारेर पिटेर कतै लडाइ दिएका छन् । दिनहुँ करेन्ट लाइरहेका छन् कि ! औँलाहरुमा पिनले घोची घोची रगत निकाली रहेका छन् कि ! वर्षौँ वर्ष बेहोस भएर लडी रहनु भएको छ कि ! यहाँभन्दा बढी सोच्ने र सम्झने मेरो शक्ति छैन इन्स्पेक्टर साब । लौ उहाँलाई मारी सकेका भए आफ्नो धर्म अनुसार काजकिरिया गर्न पाइन्थ्यो । न सास छ, न लास छ– यस्तो पनि कुनै राष्ट्रमा हुन्छ ?….
श्रीमानको कुनै पत्तो छैन, उहाँको जागिरको भरले हामी पालिएका थियौँ । जसोतसो परिवारको गाडी चलिरहेकै थियो । केही वर्षयता छरछिमेक, गाउँघरमा निस्कन पनि एक प्रकारको ग्लानि र लाजले असमर्थ भएकी छुु । चिनेका मान्छेहरु नचिनेको अभिनय गर्छन् । नातागोता केही भनसुन गर्न पर्ला भनेर यसै पर पर छन् । कसैले केही सोधखोज गरेका छैनन् । सबैको अनुहारमा म एक किसिमको त्रासदीपूर्ण रहस्य देख्छु । मानौँ सारा गल्ती र भूलहरु मेरा हुन् र मेरै कारणबाट श्रीमान कहींकतै गायब भएका छन् ।


कुन दिन हो र कुन रात हो ? मलाइ थाहा छैन । न दिनमा मलाई कुनै घाम लाग्छ, न रातमा कुनै जुन । मेरा अगाडि अनन्त अँध्यारो मात्र देख्छु । एउटा लामो सुरुङभित्र पसेको अनुभूत गर्छु– जहाँबाट बाहिर निस्कने कुनै बाटो छैन । असङ्ख्य काँडाहरुले घोचिएर असङ्ख्य पीडाहरुले थिचिएर एउटी आइमाई बाँच्न सक्दी रहिछ – आफैलाई आश्चर्य लाग्छ ।
कहिलेकाहीँ पुराना दिनहरुले झकझकाउँछन् । माइतीको आँगनमा गट्टा खेलेको र नाचेको सम्झनाले केही समय पहाड चढेजस्तो लाग्छ । तर एकैछिनमा जब आफ्नो वर्तमानमा आउँछु, आजभोलिमा रुपान्तरित हुन्छु, त्यो पहाड एउटा भिरमा साटिन्छ । त्यस भिरमा लगेर कसैले मलाइ पछाडिबाट लात्तीले हानेर खसाइ दिन्छ । म झसंग भएर वरिपरि हेर्छु– त्यहीं शून्य कोठा छ, त्यही निर्जीव खाट छ । न रेडियो सुन्न मन लाग्छ, न टिभी खोल्न । बाहिर बार्दलीमा बसेर टाढा कतै हेरि रहन्छु– उहाँ आउँदै हुनुहुन्छ भनेर ! मनमा एउटा सानो सपनाको बिरुवा उमार्छु ।
‘यत्रा धेरै वर्षहरु कहाँ जानु भएको थियो मलाइ एक्लै छाडेर ? मैले त्यस्तो अपराध के गरेकी थिएँ र मलाइ दण्ड दिनुभएको !’
‘म कहाँ गएको छुु र सीता ! यहीं कतै कतै छु । म धेरै वर्ष हराएँ भन्नु तिम्रो भ्रम हो । यस्ता नचाहिँदा भ्रमहरु पाल्नु बेकार छ……’ उहाँले थोरै मुस्कानसहित भन्नु भयो । म स्पष्ट हुन चाहेँ– ‘तपाईलाई लडाकुहरुले अपहरण गरेको होइन र ! म तपाईलाई जहाँतहाँ खोजिरहेकी छु– धेरै वर्ष भइसक्यो । सारा आकाश पाताल चहारी रहेकी छु– मलाइ धेरै दुख नदिनु होस् ।’


हेर्दा हेर्दै उहाँको अनुहार एउटा विशाषु सर्पमा बदलिन्छ । म आश्चर्यचकित हुन्छु । त्यो सर्प आफ्नो फणा उठाएर मलाइ टोक्न तम्सन्छ । म जति भाग्छु, त्यो उति मेरो पछि लाग्छ । म भाग्दै छु, त्यसले लखेट्दै छ । मेरा सारा इन्द्रियहरु ीशथिल भएका हुन्छन् । अचानक एउटा पोखरीमा गएर म डुब्छु । त्यो दुष्ट सर्प कहीँ कतै हराउँछ । जब म बिउझिन्छु– गहिरो अन्धकारले ढाकेको त्यहीं कहाली लाग्दो कोठा । गर्मीले जीउ पसिना पसिना भएको । यसो छाम्छु– खाटमा उहाँको ठाउँ खाली र चिसो छ । मलाई थाहा छैन इन्स्पेक्टर साब, म जिउँदो छु कि मुर्दा । अनायास खाना खान्छु । चामल खाँदै छु कि ढुङ्गा ! के थाहा, कुनै रोबोट जस्तो वा पुतलीजस्तो । आफैलाई आफूसँग विश्वास नगरेर पनि बाँचिँदो रहेछ । मैले आफ्नो यति लामो कथा भनिसकेँ– तपाईं किन केही बोल्नु हुन्न साहेब ! भन्नोस्, के यो देशमा कुनै सरकार छैन ? कुनै ऐनकानुन छैन ? तपाईंले भन्नैपर्छ, ढुङ्गा भएर बसिरहन पाउनु हुन्न ।


म बोल्न, चल्न नसक्ने भएको थिएँ । मैले सीतालाई आफूतिर आउन इशारा गरेँ । उ एकदमै तर्सी । मेरो मुखमा बलियो पट्टी बाँधिएको थियो अनि हातमा नेल र हतकडी । सीता जोडले कराई र त्यहीं मुच्र्छा परी ।
अनि, म आत्तिएर बिउझेँ । चारैतिर अन्धकार थियो– मात्र अन्धकार ।

प्रतिक्रिया दिनुहोस्