Logo

७३ पुल निर्माण, १९ निर्माणाधीन अवस्थामा



Spread the love

२५ माघ, बैतडी – पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ७३ पुल निर्माण भएको छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभन्ज्याङदेखि अन्तिम विन्दु बैतडीको झुलाघाटसम्म १२६ पुल निर्माण गरिनेमा हालसम्म ७३ सम्पन्न भइसकेको हो ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडका करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । सो सडकमा १९ पुल निर्माणाधीन रहेको सडक विभाग पुल महाशाखाले जनाएको छ । हालसम्म ३७ पुल निर्माणका लागि ठेक्का सम्झौता हुन बाँकी रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले बताए । निर्माणका लागि ठेक्का सम्झौता पुलमध्ये चारवटामा समस्या भएकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।

उनले भने, “तीनवटा पुलको ठेक्का तोड्न सूचना जारी भइसकेको छ, अर्काे एउटा सूचना गर्ने तयारी छ ।” यो राजमार्ग सरकारले आव २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको हो । आव २०६४÷६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य छ ।

राजमार्गको कूल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक हो । झण्डै ८७९ किमी नयाँ ट्र्याक खोली सडक निर्माण गर्ने कार्य साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्