Logo

आइसीसी विश्वकप लिग दुई : डेब्युमै कुशल मल्लकाे नाममा विश्व कीर्तिमान



Spread the love

नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा आज उनले उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका थिए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमान बनाएका हुन् ।

 

यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए । त्यो बेला उनि १६ वर्ष १४६ दिनको थिए ।

नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आएका हुन् । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हालेका थिए । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् । यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्