Logo

कांग्रेसको विरोधका कारण प्रदेशसभा बैठक स्थगित



Spread the love

२६ माघ, विराटनगर – प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । पाँचाैँ अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो । हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो ।

बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएपछि उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा राखे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको आरोप लगाउँदै कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने घोषणा गरे । बैठक सोमबार २ः०० बजे अपराह्न बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

बैठकको आजको सूचिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश हुने कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्