Logo

भ्रमण वर्ष: बराहपोखरी सडक सञ्जालले जोडिँदै



Spread the love

२७ माघ, लमजुङ – पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बराहपोखरी जानका लागि खाँचेदेखि सार्दीसम्म सडक निर्माण सम्पन्न भएको छ । गत पुस १८ गतेबाट बबिस निर्माण कन्स्ट्रकसनले निर्माण गरेको खाँचे बराहपोखरी सडकको बेँसीशहर नगरपालिका १० खाँचेदेखि सार्दीसम्मको ६ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण कार्य आज सम्पन्न भएको हो ।

बेँसीशहरदेखि बराहपोखरीसम्म ३०÷३५ मिटर भए पनि बजेट अभावका कारण सो दूरीसम्म मात्रै सडक निर्माण गरिएको खाँचे बराहपोखरी सडक उपभोक्ता समितिले जनाएको छ । प्रदेश सरकार, नगरपालिका लगायतसँग सडक निर्माणका लागि आवश्यक बजेट माग गरी आगामी वर्षभित्र बराहपोखरीसम्मनै मोटरबाटो पुर्याउने योजना रहेको उपभोक्ता समितिको दाबी छ । घण्टौँ समय पैदल यात्रा गर्नुपर्ने भए पनि यातयात नियमित भएपछि भने करिब दुई घण्टामा पुगिने बताइएको छ ।

उपभोक्ता समितिका सल्लाहकार सोमबहादुर तामाङले भने,“ सडक निर्माणले बराहपोखरी जानका लागि यात्रा छोटिएकाले थप सहज भएको र पर्यटन वर्ष २०२० मा बराहपोखरीमा पर्यटकको आगमन हुने अपेक्षा गरेका छौँ ।” सांसद देवप्रसाद गुरुङको पूर्वाधार कार्यक्रममार्फत रु ११ लाख ७७ हजार, बेँसीशहर नगरपालिकाले रु ११ लाख र वडा १० कार्यालयले रु चार लाख गरी रु २६ लाख ७७ हजारको लागतमा उक्त सडकको स्तरोन्ति तथा सडकको ट्र्याक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्