Logo

‘भ्रष्टाचारको नयाँनयाँ रुप र शैलीले नियन्त्रणमा चुनौती’



Spread the love

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचारमा देखापरेका नयाँनयाँ रुप र शैलीका कारण नियन्त्रणमा चुनौती थपिएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा ‌म‌ंगलबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँनयाँ उपाय एवं प्रविधिको प्रयोग गर्ने कारण नियन्त्रणमा चुनौती देखापरेको बताएका हुन् ।

प्रदेश प्रमुख कलौनीले पछिल्लो समय आयोगको सक्रियता प्रशंसनीय रहेको बताए । “आयोगले आफ्नो निष्पक्षता, क्रियाशीलता अझ बढाउन रचनात्मक र प्रविधिमैत्री बन्नुपर्छ”, उनले भने, “भ्रष्टाचारजन्य कार्यमा देखापर्ने अनेक रुप र शैलीलाई निस्तेज पार्न आयोगले राज्यका सबै निकाय, सर्वसाधारणसमेत सक्रिय हुने अवस्था सिर्जना गर्नुपर्छ ।” उनले भ्रष्टाचार हुनै नदिन आयोगले प्रवद्र्धनात्मक र निरोधात्मक कार्य गर्नुपर्ने सुझाव दिए । अख्तियारको सक्रियताले नै भ्रष्टाचार निवारणमा टेवा पुग्ने विचार व्यक्त गरे ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको बताए । “आयोगको सक्रियता प्रशंसायोग्य छ, प्रविधिको उच्चतम प्रयोग गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ, नागरिक सचेतना पनि अभिवृद्धि गर्ने कार्यक्रमको खाँचो छ”, उनले भने । मुख्यमन्त्री शाहीले आफ्नो स्वार्थ पूरा नभएपछि दुःख दिनलाई अख्तियारमा मुद्दा हाल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने बताए ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेश सरकार नीतिगत भ्रष्टाचार हुन नदिन सजग रहेको बताए । अख्तियारको काम–कारवाहीलाई प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अख्तियार स्थापना दिवसका अवसरमा आरंग नेपालले ‘बयान’ नामक नाटक मञ्चन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्