Logo

काठमाडाैँमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुँदै



Spread the love

१ फागुन, काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो ।

सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुना पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो ।

बैठकमा कामपाका प्रमुख शाक्यले नयाँ वर्षको शुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । विगतमा २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि सेवा बन्द भएको थियो ।

प्रमुख शाक्यले शुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालीन सेवा दिने गरी योजना बनाएर तयार रहन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई आग्रह गरे ।

बैठकमा पहिलो चरणमा रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पुर्याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । शुरुमा कम्तीमा पनि ६० ओटा बस दैनिक सञ्चालन गर्न सकिने जनाइएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालीन गर्ने कुराको सुनिश्चित महासङ्घले गर्नुपर्नेमा जोड दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगरभित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अबेरसम्म हिँडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए । कामपाका शहरी सु–व्यवस्था विभागका प्रमुख हरि कुँवरले पनि अब कार्यदल नै बनाएर छिट्टै अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्