Logo

शहीदको सम्झनामा पार्क



Spread the love

२ फागुन, रुकुम – दशवर्षे जनयुद्धका क्रममा ज्यान गुमाएकाको सम्झनामा मुसीकोट नगरपालिका–५ शेरीगाउँमा शहीद पार्क निर्माण गरिएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा ज्यान गुमाएका जिल्लाका शहीदको सम्झनामा पार्क निर्माण गरिएको हो ।

प्रतिनिधिसभाको पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु तीन करोड बजेटबाट सुविधा सम्पन्न सभाहलसहितको पार्क निर्माण गरिएको छ । शहीदको योगदानलाई कदर गर्दै शहीदकै नाममा पार्क निर्माण गरिएको पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले जानकारी दिए ।

शहीदको योगदान अमूल्य रहेको भन्दै उक्त योगदानलाई कसैले पनि अवमूल्यन गर्न नमिल्ने उनले बताए । यस पार्कले देशको परिवर्तनका लागि ज्यान गुमाएका शहीदहरुको सम्झनालाई ताजा बनाइराख्ने र शहीद परिवारको सम्मान हुने नेता शर्माको भनाइ थियो ।

पार्कमा शहीद कामी बुढासहित हतियार बोकेका माओवादी लडाकुको प्रतिमा तथा जनयुद्धमा जिल्लाबाट ज्यान गुमाउने सबै ३४३ जनाको नाम राखिएको छ । त्यस्तै पानीको फोहोरासहितको बगैँचा र ५०० सिट क्षमताको सुविधा सम्पन्न शहीद स्मृति सभाहल निर्माण गरिएको छ । सभाहलले जिल्लामा हुने ठूला ठूला कार्यक्रमलाई सजिलो हुने भएको छ ।

पच्चीसौँ जनयुद्ध दिवसको अवसरमा जिल्लामा पहिलो पटक २०२४ मङ्सिर २९ गते कम्युनिष्ट पार्टी स्थापना गर्ने वासुदेव गौतमले शहीदको प्रतिमा अनावरणका साथै सभाहलको उद्घाटन गरे । यो पार्क शहीद प्रतिष्ठान रुकुमपश्चिमको स्वामित्वमा रहेको छ । प्रतिष्ठानका नाममा १३ वर्ष अगाडि जग्गा खरिद गरिएको र यसैमा पार्क र सभाहल निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष देवीलाल गौतमले जानकारी दिए । पार्कको अवलोकण गरेर मनोरञ्जनका साथै जनयुद्धको झल्को पाइने उनले बताए ।

यसैबीच जनयुद्ध दिवसको अवसरमा शहीद परिवारलाई सम्मान गरिएको छ । रुकुमपश्चिम र पूर्वका सबै ५८२ शहीद परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले प्रमाणपत्रसहित सम्मान गरेको हो । यसका साथै जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापक वासुदेव गौतम, स्व स्कन्द शर्मा, ताराप्रसाद घर्ती, धु्रवजङ्ग मल्ल र डिल्लीबहादुर मल्ललाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्