
२ फागुन काठमाडौँ। पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई माथि मुद्दा नचलाएको विषयमा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ माग गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले पन्ध्र दिन भित्र लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको छ ।
मन्त्रिपरिषद्कै निर्णयको जगमा टेकेर ललिता निवासको जग्गा हिनामिना भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र डा. भट्टराईविरुद्ध पनि मुद्दा चलाउन मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्री निवास समेत रहेको बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरि व्यक्तिको नाममा पुर्याएको विषयमा अख्तियारले दुवै पूर्व प्रधानमन्त्री विरुद्ध मुद्दा दायर गरेको थिएन। तर मन्त्रिपरिषद्मा जग्गाबारे प्रस्ताव लगेका चार मन्त्री विरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो।