Logo

महोत्सवको आकर्षण प्याराग्लाइडिङ



Spread the love

४ फागुन, डोटी – डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ । ‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने नारासाथ भम्रण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सवको अवलोकन गर्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रूपमा उक्त प्यारागलाइडिङ उडान रहेको छ ।

दिपायलको खुल्लेक डाँडाबाट प्याराग्लाइडिङको उडान गरिन लागिएकाले हिजो÷आज दैनिक १० देखि १२ जनाले प्याराग्लाइडिङ उडान गर्ने गरेको चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले बताए । उनले भने, “प्याराग्लाइडिङबाट सेती नदीको मनोरम दृष्यावलोकन गर्नुका साथै पूरै दिपायल, राजपुरका मनोरमस्थल आकाशबाट खुलारूपमा देख्न सकिन्छ ।” प्याराग्लाइडिङ गर्न चेम्बरले पोखराबाट दुईवटा प्याराग्लाइडिङ र प्यारापाइलट झिकाएको छ । दिपायलमा पोखाराबाट मगाइएको बाबा योगी एड्भेन्चर क्लबले दैनिकरूपमा प्याराग्लाइडिङ उडान गरेको छ । प्यारापाइलट रोशन बिसी, नवीन बिसी र रमेशनाथ योगी रहेका छन् ।

प्याराग्लाइडिङ उडान शुरु भएपछि उडान हेर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीय तेजु ओलीले बताए । उनले भने, “डोटीका लागि प्याराग्लाइडिङ नयाँ भएकाले अधिकांशको रोजाइ र हेराइ बनेको छ ।” डोटी प्याराग्लाइडिङलाई उपयुक्त भएकाले कुनै समस्या नहुने प्यारापाइलट रमेशनाथ योगीले बताए । उनले भने, “भौगोलिक बनावटदेखि प्याराग्लाइडिङका लागि चाहिने हावापानी मिलेकाले उडान गर्न राम्रो छ ।”

प्रतिक्रिया दिनुहोस्