Logo

बेपत्ताको सम्पत्ति रोकिए आयोगमा सम्पर्क गर्न आग्रह



Spread the love

७ फागुन, काठमाडाैँ – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष युवराज सुवेदीले व्यक्ति बेपत्ता भएकाले सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरे ।

“विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको घटनामा बेपत्ता व्यक्तिका कारण कसैको जग्गा रोक्का भएको छ, त्यसमा केही समस्या भएमा आयोगमा सम्पर्क गर्नुस, आयोगले सहयोग गर्छ”, अध्यक्ष सुवेदीले भने । आयोगमा सो अवधिमा बेपत्ता पारिएका व्यक्तिको दुई हजार ५०६ उजुरी परेको छ । उजुरीउपर अघिल्लो पदाधिकारीले ६४ जिल्लाको विस्तृत अध्ययन सकेको थियो भने ११ जिल्लामा अध्ययन बाँकी छ ।

नौ महिनाको रिक्ततापछि आयोगमा पदाधिकारी नियुक्ति भएको छ । गत चैत मसान्तबाट नै पदाधिकारीको समय सकिएको थियो तर पदाधिकारी सिफारिस समितिले गत माघ ४ गते आयोगमा पदाधिकारी सिफारिस गरेको थियो । आयोगमा नयाँ पदाधिकारीले बाँकी जिल्लाको काम रोल्पाबाट अध्ययन शुरु गर्ने तयारी गरेको छ । पाँच अनुसन्धान अधिकृत नियुक्ति गरेर चार समूह बनाएर बाँकी जिल्लाको अध्ययन सम्पन्न गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीले द्वन्द्वकालीन घटनासँग जोडिएका घटनामा उच्च ओहदाका र सामान्य सबै अनुसन्धानको दायरमा ल्याउने जानकारी दिँदै शङ्कास्पद कुनै स्थान भएमा त्यसको छिट्टै उत्खनन गर्ने बताए । आयोगको गत माघ २६ गते बसेको बैठकले सङ्क्रमणकालीन ऐन संशोधन गर्न कानून मन्त्रालयलाई सुझाव बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्